इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध उग्र विरोध प्रदर्शन

इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध उग्र विरोध प्रदर्शन

एजेन्सी : इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध उग्र प्रदर्शन भएको छ। प्रदर्शनका क्रममा हजारौं नागरिक सडकमा उत्रिएका छन्।

गाजामा बन्धक बनाएका छ जनाको शव फेला परेपछि प्रदर्शन सुरू भएको हो। प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरूको रिहाईका लागि हमाससँग सम्झौता गर्नुपर्छ प्रदर्शनकारीहरूको माग छ।

हातमा इजरायली झण्डा बोकेर तेल अवीव, जेरुसेलम र अन्य धेरै शहरहरूमा प्रदर्शनकारीहरू निस्किएका थिए। प्रधानमन्त्री नेतन्याहु नेतृत्वको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न काम नगरेको उनीहरूको आरोप छ।

गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा रहेका सयौं मानिसलाई बन्धक बनाएको थियो।

आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भए पनि  पछि भिडले प्रहरी ब्यारिकेड तोडेका थिए। प्रदर्शनकारीहरूले टायर बालेर तेल अवीवका प्रमुख राजमार्गहरू अवरुद्ध गरेका छन्।

यसैबीच इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडतालको घोषणा गरेको छ। बन्धकहरूको रिहाइका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरूको माग  छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले शनिबार दक्षिणी गाजाको रफाहमा रहेको सुरुङमा छ वटा शव फेला पारेको बताएको थियो।

शनिबार आइडीएफ बन्धकहरू भएको स्थानमा पुग्नु केहीबेरअघि उनीहरूलाई मारिएको थियो।

भदौ १७, २०८१ सोमबार ०९:२८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।