राज्यको उपेक्षामा संस्कृत विषय, विद्यार्थीको आकर्षण हुँदा पनि लगानी शून्य
बुटवल : पूर्वीय दर्शन, साहित्य, वेद, उपनिषद्को भाषा रहेको प्राचीनतम संस्कृत भाषा राज्यको उपेक्षामा परेको छ।
विद्यालय तहमा संस्कृत भाषाको अध्ययन नहुँदा यो विषयको जग नै बलियो हुन सकेको छैन।
यद्यपि पछिल्लो समय संस्कृति भाषाप्रति विद्यार्थीको रुचि बढ्दो भएको तिलोत्तमाको दुर्गानगरस्थित दुर्गा संस्कृत विद्यापीठका अध्यक्ष चन्द्रमणि पौडेल बताउँछन्।
दुर्गा संस्कृत विद्यापीठ, दुर्गानगर तिलोत्तमाका अध्यक्ष चन्द्रमणि पौडेलले संस्कृत अध्ययनका लागि विद्यार्थीहरूको रुची बढे पनि राज्यले भने यसलाई संरक्षण गर्न नसकेको बताए।
‘विद्यार्थीहरूमा रुचि बढ्दो छ। पढ्न आउँछन्। यस वर्ष हामीले १४ जना विद्यार्थी फर्काउनुपर्यो’, उनले भने।
कक्षा ६ देखि १२ सम्म अध्ययन हुने दुर्गा संस्कृत विद्यापीठमा अहिले ९५ विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीको आकर्षण बढे पनि स्थायी शिक्षक छैनन्।
नगरपालिकाबाट तलब खुवाउने गरी तीन जना शिक्षक छन्। बाँकी छ जनालाई निजी स्रोतबाट तलब खुवाउनुपरेको अध्यक्ष पौडेलले बताउँछन्।
‘आधुनिकीकरण र बदलिँदो शिक्षा प्रणालीका बीच पनि हाम्रोमा विद्यार्थीहरूको आकर्षण छ,’ उनले थपे, ‘दरबन्दी दिने र पूर्वाधारमा लगानी अझ बढाए हामीले विद्यार्थीलाई फर्काउनुपर्दैन।’
तिलोत्तमा-१ नयाँ मिलमा रहेको दुर्गा बौद्धिक संस्कृत विद्यापीठमा पनि विद्यार्थीहरूको आकर्षण छ। कक्षा ६ देखि १२ सम्म अध्यापन हुने विद्यापीठमा १५० विद्यार्थी छन्। यद्यपि यसमा एउटा पनि सरकारी दरबन्दी छैन।
तिलोत्तमा नगरपालिकाले तीन जना शिक्षकलाई तलब खुवाउँछ भने बाँकी शिक्षक निजी स्रोतको भरमा छन्।
‘अहिलेको अवस्थासम्म यहाँ विद्यार्थी कमी भएका छैनन्। पूर्वाधार र शिक्षकमा लगानी बढाउन सके विद्यार्थी अझै बढ्छन्,’ विद्यापीठका एक हजार स्वामी विवेकानन्द सरास्वती महराजले भने, ‘तर, राज्य संस्कृत शिक्षाप्रति नै उदासीन छ।’
त्यस्तै बुटवल-७ दीपनगरस्थित सन्तोषी माता गुरुकुल विद्याश्रमकी अध्यक्ष वेदमाया भट्टराईको गुनासो पनि उस्तै छ। राज्यको नीतिका कारण विद्याश्रममा विद्यार्थीको आकर्षण घटेको उनको आरोप छ।
‘संस्कृत पढेर छिटो धन आर्जन गर्न सकिने भए पनि राज्यले यसप्रति ध्यान नै दिन सकेको छैन, धेरै विद्यार्थीहरू प्राविधिक विषयमा रुचि राख्ने भएकाले संस्कृत पढ्ने कम छन्’, उनले भनिन्।
सन्तोषी माता गुरुकुल विद्या आश्रम बुटवल–७ दिपनगरमा कक्षा ६–१२ सम्म संस्कृत पढाइ हुन्छ। ०६४ सालमा स्थापना भएको विद्या आश्रममा भएका सबै छ शिक्षक निजी स्रोतबाट राखिएका हुन्।
नेपाली, अंग्रेजी, गणित, सामाजिक, वेद, व्याकरण र संस्कृत पढाइ हुने विद्या आश्रममा जम्मा ७२ विद्यार्थी छन्।
संस्कृत शिक्षामा विद्यार्थीको आकर्षण वृद्धि गर्ने उद्देश्यले यहाँ विद्यार्थीहरूलाई आवासीय व्यवस्था गरिएको छ भने अध्ययन पनि पूर्ण रूपमा निःशुल्क हुने गर्दछ।
कक्षा १० सम्म पढ्नेहरू सबै गुरुकुलमै बस्ने भए पनि कक्षा ११ र १२ मा पढ्नेहरू भने बाहिर बस्ने गर्दछन्।
‘कक्षा ८, ९ मा आउँदा नै उनीहरूले रुद्री, वेद, चण्डी पाठ जानिसकेका हुन्छन्। कक्षा ११ र १२ मा पढ्नेहरूले विद्या आश्रममै बस्दा बाहिर पूजाआजाका लागि जान गाह्रो हुने भएकाले उनीहरू बाहिरै बसेर पढ्न आउँछन्’, विद्या आश्रमका सल्लाहकार चुरामणि पौडेलले भने।
अघिल्लो शैक्षिक सत्रमा पनि यस विद्या आश्रममा ७० जना मात्र विद्यार्थी थिए। विद्याआश्रमले एक सय जनासम्म पढाउन सक्ने क्षमता छ।
विद्या आश्रममा एक जना पनि स्थायी दरबन्दी छैन। विद्यालयकी अध्यक्ष वेदमाया भट्टराईले बारम्बार दरबन्दीका लागि पहल गरे पनि पाउन नसकेको बताइन्।
‘दरबन्दीका लागि प्रदेशदेखि संघ सरकार र शिक्षा मन्त्रालयमा पुग्यौँ। तर, दरबन्दी पाउन सकिएको छैन। स्थानीय सरकारले भने सक्दो सहयोग गरेको छ’, उनले भनिन्।
विद्यालयमा राखिएका शिक्षकहरूलाई मुठ्ठी दान, चन्दाबाट संकलन भएको रकमबाटै तलब सुविधा दिइँदै आएको उनको भनाइ छ। विद्यालयमा रुपन्देहीको अलवा स्याङ्जा, पाल्पा, गुल्मी, दाङ, नवलपरासीका विद्यार्थी समेत अध्ययन गर्छन्।
संस्कृत विद्यालयमा कक्षा ६ बाट माथि कुल ७०० पूर्णाङ्कमध्ये ३०० अङ्कका विषयहरू मात्र संस्कृतमा पढ्नुपर्छ भने बाँकी चार सय पूर्णाङ्कका विषयहरू साधारण विद्यालयमा जस्तै हुने अध्यक्ष भट्टराईको भनाइ छ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले सन्तोषी माता गुरुकुल विद्या आश्रमलाई पालिकाले सहेको सहयोग गरिरहेको दाबी गरे।
‘सबै विषय नगरपालिकाले टुङ्गाउन सक्दैन। हामीले वर्षेनी निर्माण भइरहेका भवनका लागि तला थप गरेका छौँ। सञ्चालनका लागि केही अनुदान पनि दिएका छौँ’, उनले भने।
उनले स्थायी दरबन्दीका लागि प्रक्रियामा आउन आग्रह गरे। बुटवल उप-महानगरपालिकाले हरेक वर्ष सञ्चालन अनुदान खर्च बापत विद्या आश्रमलाई १० लाख रुपैयाँ दिँदै आएको छ।
नेपाली भाषाको जननीका रूपमा रहेको संस्कृत विषयलाई केही विद्यापीठहरूले जोगाए पनि यसमा राज्यको लगानी शून्यसरह छ। यस्ता विद्यापीठहरू निजी स्रोत र मुठी दानकै भरमा चलिरहेका छन्।
भदौ १७, २०८१ सोमबार ०८:५८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।