यसो गर्नू (कविता)

यसो गर्नू (कविता)

बा हुनेहरूले बालाई हेर्नू
बा नहुनेले आकाशलाई हेर्नू 
आकाश हेर्दा यो सृष्टि देख्नू 
यो सृष्टि हेर्दा मानव देख्नू 
मानव हेर्दा आफूलाई देख्नू 
आफूलाई हेर्दा बालक देख्नू
बालक हेर्दा पहिलो पाइला
टुकुर-टुकुर चालेको देख्नू 
पहिलो पाइला चालेको हेर्दा
समातिरहेको औंलालाई देख्नू 
ती औंला हेर्दा, औंला दिएर 
मुस्कुराइरहेका बालाई देख्नू

बा हुनेहरूले बालाई हेर्नू 
बा नहुनेले सूर्यलाई हेर्नू
सूर्यलाई हेर्दा उज्यालो देख्नू
उज्यालो हेर्दा जस्केलो देख्नू
जस्केलो हेर्दा सुर्ती गन्हाउँदै
भित्र छिरेको भोटोलाई देख्नू
त्यो भोटो हेर्दा, छेउ उभिएर 
मुस्कुराइरहेका बालाई देख्नू

बा हुनेहरूले बालाई हेर्नू 
बा नहुनेले घरलाई हेर्नू
घरलाई हेर्दा घुर्यान देख्नू
घुर्यान हेर्दा बर्खे गोठ देख्नू 
बर्खे गोठ हेर्दा लैनो गाई देख्नू
लैनो गाई हेर्दा दुधेरो देख्नू
दुधेरो हेर्दा टुक्रुक्क बसी
दुधेरो च्यापेका दुई घुँडा देख्नू 
ती घुँडा हेर्दा, दूध दुहुँदै 
मुस्कुराइरहेका बालाई देख्नू

भदौ १६, २०८१ सोमबार ०७:४८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।