काभ्रेमा अलग-अलग दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेमा अलग-अलग दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रे : जिल्लामा आइतबार भएका दुई छुट्टा-छुट्टै दुर्घटनामा गम्भीर घाइते दुई जनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ।

करेन्ट लागि घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

पनौती नगरपालिका-६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-१ का २० वर्षीय सविन चौधरीको मत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते चौधरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै बनेपा-पनौती सडकखण्डअन्तर्गत पनौती नपा-५ ढलमलेमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलयात्रु ६३ वर्षीय काजीबहादुर गुरुङको मृत्यु भएको हो।

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१३ प ०७५१ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिँदा टाउको र बायाँ खुट्टामा चोट लागेपछि उनको उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएकामा उपचारका क्रममा गए राति मृत्यु भएको हो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक बनेपा नपा-७ का १७ वर्षीय सौरभ श्रेष्ठ र पछाडि बस्ने सोही वडाका १६ वर्षीय रियान प्रधान समान्य घाइते भएका थिए। दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भदौ १६, २०८१ सोमबार ०७:०२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।