‘घर ज्वाइँ’ले ६ करोडको कलेक्सन गर्दा निर्माताको कमाई डेढ करोड

‘घर ज्वाइँ’ले ६ करोडको कलेक्सन गर्दा निर्माताको कमाई डेढ करोड

काठमाडौँ : दयाहाङ राई र मिरुना मगर अभिनीत अन्य फिल्मको तुलनामा फिल्म ‘घर ज्वाइँ’ ले त्यति सकारात्मक प्रतिक्रिया पाएन। तर यो बिचमा हलमा गतिलो नेपाली फिल्म रिलिज नहुँदा ६ वटा हलमा टिकेर ५१ दिन भने मनायो।

फिल्मले हलमा ५१ दिन मनाएको उपलक्ष्यमा निर्माण टिमले फिल्मका कलाकार र पत्रकारलाई केक काटेर खुसी पनि साट्यो।  यो फिल्म असार २८ बाट प्रदर्शनमा आएको थियो।

फिल्मले ५१ औँ दिन मनाउँदा हलबाट करिब ६ करोडको व्यापार गरेको निर्माता जनक घर्ती मगरले दाबी गरे। उनले उकेरासँगको कुराकानीमा फिल्मबाट आफूलाई एक करोड भन्दा बढी नाफा भएको दाबी गरे।

‘यो फिल्मले हलमा ५१ औँ दिन मनाउँदा ६ करोड हाराहारी कलेक्सन गरेको छ,’उनले भने,‘फिल्म निर्माण गर्दा २ करोड हाराहारी भएको थियो।’

उनले यो फिल्मबाट आफूलाई डेढ करोड हाराहारी कमाई भएको बताए।

फिल्मका निर्देशक अनिल बुढा मगरले अरूका फिल्मले ५१ दिन मनाएको सुनेको तर कस्तो हुन्छ भन्ने अनुभव आफूलाई नभएको भन्दै भावुक भए। अभिनेता दयाहाङ राई र मिरुना मगरले आफ्नो फिल्मले हलमा ५१ दिन मनाएको खबर सुन्दा निकै खुसी लागेको भन्दै कलाकार,निर्देशक तथा निर्मातासँग खुसी साटेका थिए।

भदौ १५, २०८१ आइतबार २३:४८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।