कांग्रेस केन्द्रीय समिति : गगनको गठबन्धन नगर्ने प्रस्ताव आंशिक पुरा, विश्वप्रकाशको एक्जिट प्रस्ताव पुरै अस्वीकार

कांग्रेस केन्द्रीय समिति : गगनको गठबन्धन नगर्ने प्रस्ताव आंशिक पुरा, विश्वप्रकाशको एक्जिट प्रस्ताव पुरै अस्वीकार

काठमाडौँ : नेपाली का‌ग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन संशोधन सहित पारित गरेको छ। दुवैको प्रतिवेदनमा भएका प्रस्तावहरूमध्ये थापाको प्रतिवेदनमा रहेको ‘निर्वाचन अगाडि गठबन्धन नगर्ने’  र शर्माको राष्ट्रपति र प्रधानमन्त्रीको कार्यकालबारेको प्रस्ताव विवादमा आएको थियो।

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न महासमितिको बैठकमा थापाले ‘साङ्गठनिक प्रस्ताव’ र शर्माले ‘समसामयिक राजनैतिक प्रस्ताव’पेस गरेका थिए। उप सभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदनसमेत बैठकमा आएका सुझाव समेटेर केन्द्रीय समितिको बैठकबाट पारित गर्ने अधिकार प्रत्यायोजन गरिएको थियो।

सोही अनुसार साउन २३ देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा मुख्य यीनै विषय केन्द्रित भएका थिए। बैठकले गगनको प्रस्ताव हुबहु पारित गरेन।

निर्वाचन अगाडि गठबन्धन गर्ने या नगर्ने भन्नेबारे प्रस्ट उल्लेख नगरी पार्टी एक्लै बहुमत ल्याउनेगरी सङ्गठित हुने पक्षमा बैठक उभिएको समितिको बैठक सकिएपछि पार्टी प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए।

‘चुनाव अगाडि वा पछाडि भन्ने केही छैन। अहिलेको निर्णय के हो भने एक्लै निर्वाचनमा गएर एकल बहुमत ल्याउने गरी काम गर्ने आशयको निर्णय गर्यो’ महतले भने।

उनले महामन्त्री थापाको प्रस्तावको आशय समेटेर प्रतिवेदन पारित भएको दाबी गरे। उनका अनुसार बैठकले अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेको एक पटक राष्ट्रपति र दुई पटक मात्र प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक मात्र सांसद हुन पाउने प्रस्ताव भने बैठकले स्वीकार गरेन।

यो कांग्रेको विधानको मात्र नभएर संविधानै संशोधन गर्नुपर्ने विषय भएको उनको तर्क थियो। आइतबारको अन्तिम बैठकमा महामन्त्री शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबन्न आग्रह गरेपछि देउवा उनीसँग रिसाएका हुन्।

माओवादीबारे उल्लेख गरिएका व्याख्याबारे विवाद भएको खड्काको नीति प्रस्तावमा समेत संशोधन भयो। संशोधनमा माओवादीको सशस्त्र द्वन्द्व लगायतका विषयमा यस अगाडि समेटिएको विषय संशोधन भयो या भएन प्रस्ट भएन।

पार्टी प्रवक्ता महतले महासमितिको बैठकमा बृहत् छलफलबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन सहित प्रस्तुत परिमार्जित प्रतिवेदन सर्वसम्मत पारित भएको बताए।

भदौ १५, २०८१ आइतबार २३:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।