पत्रकार महासंघले तेस्रो पटक तोक्यो निर्वाचन मिति, युनियन र चौतारी गठबन्धन मिलाउँदै

पत्रकार महासंघले तेस्रो पटक तोक्यो निर्वाचन मिति, युनियन र चौतारी गठबन्धन मिलाउँदै

काठमाडौँ : सदस्यता सम्बन्धी विवादमा मिति तोक्दै सार्दै गरेको नेपाल पत्रकार महासंघले तेस्रो पटक निर्वाचन मिति तोकेको छ। महासंघले असोज ५ मा सबै तहको एकैसाथ निर्वाचन गर्ने बताएको हो।

क्रियाशील पत्रकारहरूको सदस्यता आवेदन अस्वीकार गरेर दलगत स्वार्थको आधारमा महासङ्घको सदस्यता दिने र नवीकरण गर्ने गरेपछि महासङ्घमा विवाद बढेको थियो। महासङ्घका अध्यक्ष विपुल पोखरेलले सार्वजनिक गरेको विज्ञप्तिमा सदस्यता शुद्धीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरेका छन्।

घोषित मितिमा निर्वाचन हुन नसक्नुको विविध कारण भए पनि नैतिक जिम्मेवारी लिँदै उनले यस बिचमा भोगेका नकारात्मक पक्षबाट शिक्षा लिने उल्लेख गरेका छन्। महासंघले सदस्यताको विवाद टुंगिएको दाबी गरेको छ। दलगत संगठनको माग अनुसार सदस्यता टुंग्याए पनि क्रियाशील पत्रकारहरूको आवेदन भने अझै स्विकारिएको देखिएन।

अबको गठबन्धन चौतारी र युनियन

यस अगाडि महासंघले दोस्रो पटक तोकेको मितिसम्म केन्द्रमा माओवादी केन्द्र र एमालेको सहकार्यमा सरकार थियो। केन्द्रीय सत्ता अनुसारै महासङ्घमा गठबन्धन बन्ने खराब प्रवृत्ति अनुसारै निर्वाचनमा एमालेको प्रेस चौतारी र माओवादीको प्रेस सेन्टरसहितको गठबन्धन बनेको थियो।

कांग्रेसको नेपाल प्रेस युनियन एक्लै भएपछि उसले सदस्यता सम्बन्धी विषयमा महासङ्घको केन्द्रमा तालाबन्दी गरेको थियो। अब असोज ५ को निर्वाचन ताका भने केन्द्रमा एमाले र कांग्रेसहितको सरकार छ। सत्ता गठबन्धन अनुसार महासङ्घमा गठबन्धन बन्ने भएकाले अबको निर्वाचनमा युनियन र चौतारीबीच गठबन्धन बन्ने देखिन्छ।

यस अगाडि नै चौतारीले महासङ्घको अध्यक्षमा निर्मला शर्माको नाम तय गरिसकेको छ। युनियनसँग गठबन्धन भए पनि चौतारी अध्यक्ष छाड्न राजी देखिएको छैन। यस बिचमा युनियन र चौतारीका पदाधिकारीबीच भएको छलफलमा चौतारीले वरिष्ठ उपाध्यक्ष र महासचिवको पद लिएर निर्वाचनमा सहकार्य गर्न प्रस्ताव गरिसकेको छ। तर युनियनले अध्यक्षमा दाबी छाडेको छैन।

यस अगाडि केन्द्रीय सत्ता गठबन्धन अनुसारै युनियन र प्रेस सेन्टरसहित साना दल निकट संगठनहरु मिलेर महासंघमा भागबन्डा गरेका थिए। 

भदौ १५, २०८१ आइतबार १९:३०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।