पूजालाई फिल्म ‘रावायण’ भन्दा ‘पल’को ब्राण्डिङको चिन्ता

पूजालाई फिल्म ‘रावायण’ भन्दा ‘पल’को ब्राण्डिङको चिन्ता

काठमाडौँ : फिल्म ‘रावायण’ मा पूजा शर्मा अभिनेत्री मात्रै हैन, निर्मातामध्येकी एक पनि हुन्। अभिनेत्री हुँदा फिल्म नचल्दा फ्लप हिरोइनको ट्याग बढ्ने डर मात्रै हो। तर निर्माण गरेको फिल्म डुब्यो भने त लगानी पनि डुब्छ। त्यसैले त निर्माताहरू फिल्मको व्यवसाय बढाउन दौडधुपमा लाग्छन्।

तर फिल्मको माहौल बनाउने त कलाकारले नै हुन्। यस मानेमा भने पूजालाई सहज छ। उनी फिल्म प्रचारमा हिँड्दा अभिनेत्री र निर्मात्री दुवैको जिम्मेवारी पुरा गरिरहेकी छिन्।

फिल्मका प्रचार सामाग्रीले दक्षिण भारतीय फिल्मको अलि बढी ह्याङ बोकेको देखियो। भिएफएक्समा प्रस्टै त्रुटी देखियो। अनमोल केसीका लागि किनेको दार्हीजुंगा पल शाहलाई फिट देखिएन।

फिल्म प्रचारकाक्रममा फिल्मको टिजर अनि ट्रेलरमा देखिएका कमजोरीबाट बनेको नकारात्मक माहौल चिर्न सक्रिय हुनुपर्ने हो नि निर्मात्री त।

तर फिल्मको प्रचारमा उनमा फिल्मको व्यापार भन्दा बढी पल शाहको ‘इमेज सुधार्न’ बढी चिन्ता देखियो। त्यसैले उनी प्राय फिल्म कस्तो भन्दा पनि पल कस्तो भन्ने बखानमा बढी केन्द्रित देखिएकी छिन्।

‘पलमा कलाकारमा हुनुपर्ने हरेक चिज, गुण छ। पल सबै कुरामा सहज छ’ प्राय कार्यक्रममा पूजाले दाबी गर्छन्।

पूजाका अनुसार फिल्ममा एसिड आक्रमणदेखि देशमा मानिसहरूले कसरी शक्ति दुरुपयोग गरिरहेका छन् भन्ने कुरालाई देखाइएको छ।

उच्च अदालतबाट नाबालिग बलात्कारको घटनामा सफाइ पाउने चरणसम्ममा पलबाट कति शक्ति दुरुपयोग भयो, पीडित कसरी होस्टायल बनाइयो ती सबै घटनाक्रम सार्वजनिक भइसकेका छन्। उच्चबाट भएको फैसला उल्टिसकेको छैन। त्यसैले कानुनी रूपमा उनी निर्दोष हुन्। तर यो मुद्दा सर्वोच्चमा ब्युँतिइसकेको छ। यो हेक्का पूजालाई हुनुपर्ने हो।

पल जब हिरासतमा थिए त्यो बेलामा पूजा आफैँ ‘पल मेरो मुटुमा छ’ भन्दै नाबालिग बलात्कारको आरोपीको पक्षमा सक्रिय भएकी थिइन्।

गम्भीर अपराधमा कानुनी कठघरामा रहेकाको पक्षमा समाजमा सकारात्मक माहौल बनाउने गरिने यस्तो प्रयास पनि एक खालको शक्तिको दुरुपयोगै थियो। अर्का निर्माता तथा निर्देशक सुदर्शन थापा त ठगीमा मुद्दा खेपिरहेकै पात्र हुन्।

अब यस्तो छवि रहेका पात्रहरू रहेको फिल्मले दिने ‘असल समाजको निर्माणको अजेण्डा’ लाई दर्शकले फिल्म त हो नि, हेर्ने अनि रमाउने भनेर मात्र स्वीकार गर्लान् र! दर्शकले पचाउलान्? यही प्रश्नको उत्तरमा लुकेको छ पूजाको निर्मात्री यात्राको सफलता र असफलता।

भदौ १५, २०८१ आइतबार १७:०७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।