घर खोज्दा भाइरल भएका, ३५ वर्षदेखि छेकम्पारमा ‘हराएका’ प्रकाशले पाए नागरिकता

घर खोज्दा भाइरल भएका, ३५ वर्षदेखि छेकम्पारमा ‘हराएका’ प्रकाशले पाए नागरिकता

काठमाडौँ : गलैँचा बुन्न काठमाडौँ आउँदा परिवारबाट ३५ वर्षदेखि सम्पर्कहीन भएका भोजपुरका प्रकाश तामाङले नागरिकताको प्रमाणपत्र पाए। कार्यक्रम ‘हेर्ने कथा’ ले उनको बाल्यकालीन स्मरणको आधारमा परिवार खोज्न सहयोग गरेपछि उनी चर्चामा आएका थिए।

बा-आमा अनि दाइहरू झापाबाट बसाइँ सरेर भोजपुरको षडानन्द नगरपालिका–१० मा बस्न गएका उनको परिवारसम्म सोही कार्यक्रमले पूर्याएको थियो। परिवार भेटेर पून सर्त अनुसार छेकम्पार फर्किएका उनी केही दिन अगाडि आफ्नै घरमा पशुपालन गर्ने भनेर फर्किए।

उनलाई नागरिकता बनाउन गाह्रो भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो राखेर समस्या समाधान गर्न निर्देशन दिएका थिए। आइतबार इलाका प्रशासन कार्यालय दिङलाका प्रमुख प्रशासकीय विनोद ज्ञवाली प्रकाशको घरमै पुगेर उनलाई नागरिकताको प्रमाणपत्र दिए।

काठमाडौँबाट एक जनाले उनलाई गोर्खाको छेक्म्पार लगेर आफ्नो परिवारको सदस्य जस्तै गरेर राखेका थिए। उनी पशुपालनमा संलग्न थिए। बाल्यकालको केही सम्झना भए पनि उनी आफ्नो परिवारका सदस्यबारे बेखवर थिए। हेर्थे कथाको टिम कथा खोज्दै छेकम्पार पुग्दा उनलाई भेटेका थिए।

उनको बाल्यकालीन सम्झनाका आधारमा झापाका पत्रकार पर्वत पोर्तेलले परिवार खोज्न सहजीकरण गरेपछि उनी विवाहित बहिनीको घरसम्म पुग्न सफल भएका थिए। त्यहाँबाट बा र दाजुभाइ गाउँतिर बसाइँ गएको खुलेपछि त्यतैबाट ठेगाना लिएर उनी घरमै पुगेर बा अनि आमासँगै दाइ, भाइ र भतिजहरू समेत भेटे।

छेकम्पार पुगेका उनी गत दसैँमा पुन घर फर्किए पनि यता केही इलम नभएपछि पुन उनै गोर्खा गए। घरमै बसेर बुढा भएका बा-आमा पनि हेर्ने अनि आफूले जानेको पशुपालन गर्ने भन्दै उनी स्थायी रूपमै बस्नेगरी घर फर्किएका थिए।

उनको घर बनाउन र पशुपालनमा सघाउन अहिले प्रतिस्पर्धा चलिरहेको छ। उता छेक्पारमा उनी बसेका परिवारका सदस्यले उनको नाममा बैङ्क खाता खुलेमा १२ लाख दिने र उनले चाहेमा छेकम्पारमा रहेको एक छोराको अंश उनको नाममा गरिदिने बताइरहेको छ।

छेकम्पारमा गुमनाम, घर भेट्दा भाइरल

हेर्ने कथामा उनको कार्यक्रम प्रसारण भएसँगै प्रकाशले परिवार त पाए नै सामाजिक सञ्जालबाट प्रचार पनि। उनको कार्यक्रम प्रसारण भएदेखि उनलाई पच्छ्याउने, उनका दैनिक गतिविधि खिचेर सामाजिक सञ्जालमा राख्नेक्रम बढेको छ। उनी जता जान्छन् यूट्वमा सक्रिय समूह उनको पछि लाग्छन्।

३५ वर्षसम्म गुमनाम रहेका उनलाई छेकम्पारबाट विदाहुँदा स्थानीय तहका अधिकारीले बिदाइ गरेका थिए। उनी विमानबाट काठमाडौँ आएर, विमानबाटै घरतिर लागे। उनीबारे प्रधानमन्त्री ओलीले समेत चासो राखेर भेट्ने इच्छा देखाएका थिए। तर भेट भएको छैन। उनको नाममा सहयोग रकम उठाउने, घर बनाइदिने प्रतिस्पर्धा सुरु भएको छ।

पूर्व पर्यटनमन्त्री सुदन किरातीले घर बनाइदिने बताएका छन्। प्रकाशको परिवार जहाँ बसिरहेको सो जग्गा उनीहरूको हैन। उनीहरू अर्काको जग्गा कमाएर बसेका हुन्। कोशीका मुख्यमन्त्रीले प्रकाशलाई भेट्न बोलाएका छन्। उनले प्रदेश सरकारबाट जे सहयोग गर्न सकिन्छ आफू तयार रहेको सन्देश पठाएका हुन्।

भदौ १५, २०८१ आइतबार १६:३४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।