लचिलो मौद्रिक नीतिले बजारमा चहलपहल बढाएको डेपुटी गभर्नर मिश्रको दाबी

लचिलो मौद्रिक नीतिले बजारमा चहलपहल बढाएको डेपुटी गभर्नर मिश्रको दाबी

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बम बहादुर मिश्रले लचिलो मौद्रिक नीतिका कारण बजारमा चहलपहल बढेको दाबी गरे।

आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले नियामक विषय  र मौद्रिक नीति केही हेरफेर गरेर मौद्रिक नीतिलाई लचिलो बनाउने कोसिस गरेको बताए। राष्ट्र बैङ्कको नीतिले बजारलाई केही हदसम्म चलाउन सकिन्छ भन्ने नमुना देखा परेको दाबी समेत गरे।

‘यो वर्षको मौद्रिक नीतिको कार्यदिशा केही सहज र लचिलो बनायौँ। एकातिर नियामक विषय अर्कोतिर मौद्रिक नीति कै पनि नीतिमा केही हेरफेर गरेर मौद्रिक नीतिलाई लचिलो दिने कोसिस गरेका हौँ,’ उनले भने‘केही नियामक विषयमा हामीले गरेको कामबाट अहिले बजारमा केही चहलपहल देख्न सकिन्छ। यसबाट राष्ट्र बैङ्कको नीतिले बजारलाई केही हदसम्म चलाउन सकिन्छ भन्ने एउटा नमुना देखा पर्न गएको छ।’

उनले नेपालमा उत्पादन भएका इभीलाई प्रोत्साहन गर्न सके बिदेसिने युवाहरूलाई केही हदसम्म देशमा रोक्न सकिने बताए।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले सरकारले सार्वजनिक यातायातका क्षेत्रमा भरपर्दो सुविधा दिन नसकिरहेको अवस्थामा नाडाले गरिरहेको कामको प्रशंसा गरे।

उनले अटोमोबाइल क्षेत्रलाई अनुत्पादक क्षेत्रका रूपमा मात्र बुझ्दा समस्या आएको भए पनि नेपालका बैङ्कहरू भेहिकल क्षेत्रसँग साझेदारी गर्न इच्छुक रहेको बताए।

नाडाका अध्यक्ष करण चौधरीले अटो उद्योगमध्ये ८० प्रतिशतले बैङ्कसँग काम गर्दै करिब ५९ प्रतिशत कर राज्यलाई बुझाइरहेको बताए। अटो मोबाइल क्षेत्र बृहत् रहेको उल्लेख गर्दै अध्यक्ष चौधरीले यो क्षेत्र नेपालको गौरव रहेको बताए।

भदौ १५, २०८१ आइतबार १६:१७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।