गैँडा चोरी आरोपमा फरार ३४ जना पक्राउ

गैँडा चोरी आरोपमा फरार ३४ जना पक्राउ

चितवन : चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ। 

निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा छ जनालाई पक्राउ गरेको थियो। खाल्डो बनाएर दुई गैँडा मारेको अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सफल भएको थियो। 

चोरी सिकारी नियन्त्रण अभियानमा महत्वपूर्ण काम भएको भन्दै निकुञ्जका अधिकारीलाई ज्यानु वसन्तराज मिश्र फाउण्डेसनले तीन लाखसहित सम्मान गरेको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, संरक्षण अधिकृत दिवेश श्रेष्ठ र घडियाल प्रजनन केन्द्रका कर्मचारी प्रेम शर्मा नगदसहित सम्मानित भए।  

प्रमुख संरक्षण अधिकृत पुनले सालकको चोरी सिकारी गर्ने छ जनालाई पक्राउ गरिएको बताए। 

उनले निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएका नेपाली सेनासँगै मध्यवर्ती क्षेत्रका बासिन्दाको संयुक्त प्रयासले चोरी सिकार नियन्त्रण अभियान प्रभावकारी बनाउन सकिएको बताए। 

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एक सिङ्गे गैंडा र पाटेबाघका लागि प्रख्यात मानिन्छ।   

भदौ १५, २०८१ आइतबार १३:५७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।