झन्झन् बढेको हो ओली-बालेन दुरी?

झन्झन् बढेको हो ओली-बालेन दुरी?

काठमाडौं : गएको साउन २२ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँगको सहकार्यबारे छलफल गरे। तर, त्यस छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहभागी भएनन्। उनको सट्टा उपमेयर सुनिता डंगोल सहभागी थिइन्। 

‘मेयर्स फोरम’ काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख-उपप्रमुखहरूको साझा थलो हो। उपत्यकाको फोहोर व्यवस्थापनको प्रमुख दायित्व काठमाडौं महानगरको काँधमा छ। तर, कार्यकारी भूमिका रहेका बालेन नै संघीय सरकारसँगको त्यो महत्वपूर्ण छलफलमा भाग लिन सिंहदरबार गएनन्।  

बालेन नगए पनि सुकुम्बासी बस्तीमा डोजर चलाउने, सडक विस्तारको नाममा फुटपाथ व्यापारीलाई दुख दिने लगायतका उनका कामबाट असन्तुष्ट ओलीले त्यही बैठकमा आफ्ना असन्तुष्टि दोहोर्याए। 

काठमाडौं महानगरले नगर प्रहरी लगाएर फुटपाथ व्यापारीमाथि गरिरहेको दमनलाई रोक्नुपर्ने भन्दै जनप्रतिनिधिलाई अहंकार र दम्भबाट निर्देशित नहुन आग्रह गरे। 

‘हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन। सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन्। सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन्,’ उनले भनेका थिए। 

‘मेयर्स फोरम’मा बालेनप्रति असन्तुष्टि जनाएका प्रधानमन्त्री ओलीले साउन १५ मा धरहराको स्वामित्व काठमाडौं महानगरको नभएको भन्दै आलोचना गरेका थिए।

‘धरहरा कुनै पालिका विशेषको होइन। बेसमेन्टमा पार्किङ बनिसकेको छैन, निःशुल्क पार्किङ भनेको छ, सरकारले त्यत्रो पैसा खर्च गरेको, अलिकति शुल्क लिए त निर्माणको पैसा उठ्छ नि !’ ओलीले सचिवहरूलाई निर्देशन दिने क्रममा भने।

ओलीले यसो भन्नुको कारण पनि अन्ततः बालेनसँगै जोडिन्छ। धरहराको बेसमेन्ट पार्किङ भने काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरिरहेको छ। न्युरोड क्षेत्रलाई ‘नो पार्किङ जोन’ घोषणा गरेर त्यसको विकल्पमा २ हजार २ सय दुई पाङ्ग्रे र काठमाडौं टावरमा ३ सय चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराइएको छ। यसको श्रेय आफू लिने पक्षमा छन् बालेन तर, ओली त्यो चाहँदैनन्। 

एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनुअघि सतहमै देखिएको ओली-बालेन दुरी अहिलेसम्म घट्ने तरखरमा छैन।

बालेन पार्टी खोलेर राजनीतिमा आउने सम्भावना बलियो छ, त्यसकारण पनि ओलीमाथि प्रश्न उठाउँदै आफ्नो राजनीतिक स्पेस बनाउन खोजेका छन् बालेनले। त्यसका लागि ओलीले मन नपराए पनि बालेन पेलेरै सहरका घर भत्काएर वा सडक भत्काएर काम गरेर लोकप्रिय बन्ने दौडमा छन्। ओली र सिंगो एमालेमा भने आफ्नो चुनावी आधार इलाका भत्काएर एउटा निर्दलीय युवाले जनमत बटुल्ने चिन्तामा छ। 

नत्र भने संसद्को दोस्रो ठूलो पार्टीका अध्यक्ष एउटा स्थानीय तहको प्रमुख एकजना व्यक्तिदेखि किन यतिधेरै त्रसित बन्नुपर्छ र? बालेनको प्रतिवादमा ओली आफैँ किन अघि सरिरहन्छन्?

कसरी सुरू भयो ओली र बालेनबीचको खटपट ?
काठमाडौँ महानगरको मेयर निर्वाचित भएपछि बालेन एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे। त्यसबेला आफूलाई भेट्न आएका बालेनलाई ओलीले तबला उपहार दिएका थिए। त्यसबेला बालेन एमालेमा प्रवेश गर्ने चर्चासमेत चल्यो। 

तर, एक्कासि ओलीले सुकुम्बासी बस्तीमा डोजर लगाउनु गलत भएको भन्दिएपछि बालेन ओलीप्रति रुष्ट भएको देखिन्छ। ओलीले भनेका थिए, ‘तपाईंहरूले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरूलाई हटाउने हाकिमका कुरा सुनी हाल्नुभयो, प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए उनीहरुलाई पराजित गर्थ्यौ हामी, त्यो के गरेको? शत्रु देशसँगको लडाइँको जस्तो भाषा, शैली, तरिका, त्यहाँ कुन शत्रु बसेका छन्?’ 

त्यसपछि त ओली र बालेनले सार्वजनिक रूपमै एकअर्कालाई खुइल्याउने खालका अभिव्यक्ति दिन थाले। ओली सार्वजनिक कार्यक्रमबाट उखान-टुक्का भर्दै बालेनलाई कटाक्ष गर्न थाले भने त्यसको प्रतिवादमा बालेनले फेसबुकमा स्टाटस लेख्न थाले। यो क्रम लामो समय चल्यो। 

ओलीले 'कर्कलो फाँड्न बन्चरो लागेको' भन्दै बालेनप्रति कटाक्ष गरे। लगत्तै बालेनले गिरीबन्धुको प्रकरणमा ओलीले १० हजार बिगाहा जमिनको विषय उठान गरे। 

यो विवाद यतिसम्म पुग्यो कि, एमाले सचिव योगेश भट्टराईले बालनले ‘गिरीबन्धुको विषय लिएर हाम्रो पार्टी, पार्टी अध्यक्षमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको' भन्दै संसद्बाटै आपत्ति जनाए। भट्टराईले पाएको १७ मिनेट बालेनमाथि आक्रोश पोखेर खर्चिए। ओली, प्रचण्ड, शेरबहादुर देउवा, महन्थ ठाकुर, उपेन्द्र ठाकुर, अशोक राई लगायत जेल बसेर, लडेर लोकतन्त्र ल्याएका नेताहरुविरुद्ध मजाक गर्नु ‘आफ्नै आमाको अस्तित्वमाथि, अस्मितामाथि बारम्बार तपाई नङ्ग्याउने काम गरेको आरोप लगाए।

उनले भनेका थिए, ‘म भन्न चाहन्छु बालनजीलाई पैसा कति चाहियो? सरकारले दिन्छ कति चाहियो? हामी दिन्छौँ। सरकारले दिन तयार छ, हामी अर्थमन्त्रीलाई भनौँला, प्रधानमन्त्रीलाई भनौँला। उत्तेजना फैलाएर, उच्छृङ्खल गतिविधि गरेर तपाई मार्फत लाखौँ युवाहरूले यो देशको भविष्य खोजेका हुन्। पछिल्ला दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ, ती युवाहरूको सपनामाथि धोका दिँदै हुनुहुन्छ, मुलुकलाई धोका दिँदै हुनुहुन्छ। यस ढङ्गले अगाडि नबढ्न पनि म भन्न चाहन्छु।’

ओली-बालेनबीच अनेक विषयमा आरोप-प्रत्यारोप भएपनि मुख्य विषय फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले न्युरोडमा सडक भत्काए पछिको विवाद हो। सो सडक डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्दै थियो। बालेनले पनि फुटपाथ बढाउन खोज्दै थिए तर, तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ र ओलीले त्यसको विरोध गरेपछि बालेन ओलीप्रति थप आक्रोशित बने। 

त्यसपछि काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि मेयर शाहको निर्देशनमा एक ट्रक धुलो लगेर खन्यायो। त्यसपछि झन् ओली-बालेन एक अर्काप्रति लक्षित कटाक्ष, आक्रोश, आरोप-प्रत्यारोपमा उत्रिए।

बालेनको उक्त कदमपछि एमाले पार्टी कार्यालयमा भएको एक बैठकमा ओलीले भनेका थिए, ‘असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने? यो कुनै सभ्यता हो? अनि आज योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन? उनीहरुको एउटा मण्डली हुन्छ, त्यसले वा जन्मिएछ एउटा बहादुर क्याबात् लेख्छ। अनि अरू चुप लागेर बस्छन् झोक्राएर। यो त सभ्य तरिका भएन भनेर सत्य कुरा भन्न सकिँदैन?’

त्यसपछि बालेन पनि के कम? केही समयपछि कांग्रेस-एमाले गठबन्धनबाट ओली प्रधानमन्त्री बन्ने चर्चा सुरू भएपछि बालेनले त्यसको कटाक्ष गरिहाले। बालेनले ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तस्बिर हाल्दै भनेका थिए, ‘यो समय गिरीबन्धु चियाको हो, काले काले मिलेर खाऊँ भाले।’ 

यो स्टाटसले पनि बालेनविरुद्ध ओलीमात्र हैन, एमाले नै लागिरहेको कतिपयको बुझाई छ।  

भदौ १५, २०८१ आइतबार १३:४२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।