नेपालको नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो : प्रचण्ड

नेपालको नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो : प्रचण्ड

नेपालगञ्ज : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन्।

प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्स पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताए। 

‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो। आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो। त्यो एजेन्डा माओवादीसँग मात्रै छ’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले एजेन्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं। संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेन्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ।’

उनले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेन्डा नै अब मुलुकलाई अघि बढाउन केन्द्रीय एजेन्डा हुने उल्लेख गर्दै उनले यसकै माध्यमबाट समाजवादमा पुग्न सकिने विश्वास दाबी गरे। 

अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको बताए। 

उनले भने, ‘पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैँ म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ। पार्टीको आवश्यकता, साथीहरूको जोडबल र जनभावनाले गर्दा ३५/३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु।’ 

उनले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको र पार्टी झन एकढिक्का भएको बताए। 

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गर्ने क्रम पनि अघि बढ्ने जानकारी दिए। 

उनले अहिले आफ्नो पार्टीको प्राथमिकतामा सरकार नभएको बताउँदै सरकारमा जानुभन्दा अब पार्टी निर्माण कार्यमा लागिरहेको उल्लेख गर्दै उनले आफू सरकार हुँदासमेत चारमहिने अभियान सञ्चालन गरी पार्टीलाई सुदृढीकरण गरेर लैजाने बताए। 

अध्यक्ष प्रचण्डले वर्तमान सरकार जनताको भावना विपरीत चलिरहेको बताए। 

‘संविधानको भावना विपरीत बनेको सरकारले निरन्तर जनताका इच्छा विपरीत काम गरिरहेको छ’ उनले भने ‘यसको विरुद्धमा हामी आवश्यक परेमा सडकमा पनि जान सक्छौं।’

भदौ १५, २०८१ आइतबार ११:२६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।