दुई वर्षअघि ३२ करोडमा बनेको ‘धनगढी सभागृह’ अहिलेसम्म प्रयोगमा आएन

दुई वर्षअघि ३२ करोडमा बनेको ‘धनगढी सभागृह’ अहिलेसम्म प्रयोगमा आएन

काठमाडौं : धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ। सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको थियो। 

दुई वर्ष अगाडि निर्माण सम्पन्न भएको सभागृहमा सात सय जना क्षमताको एउटा मुख्य हल, दुई सय जना क्षमताको कार्यक्रम कक्ष, एक सय सवारीसाधन अटाउने क्षमताको पार्किङ निर्माण गरिएको आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी सौरभ कलौनीले जानकारी दिए। उनका अनुसार सङ्घीय सरकारको ३२ करोड ६० लाख ८१ हजारको लागतमा सभागृह निर्माण गरिएको हो। 

विसं २०७५ माघदेखि निर्माण सुरू भएको सभागृह २०७९ असारमा निर्माण सम्पन्न भएको थियो। निर्माण कम्पनी ‘विकेओआई एमके रोयल’ जेभीले सभागृह निर्माण गरेको आयोजना कार्यान्वयन एकाइका सूचना अधिकारी कलौनीले बताए। 

धनगढी उपमहानगरले उपलब्ध गराएको एक बिघा जग्गामा निर्माण भएको उक्त सभागृहमा रङरोगन, विद्युत् जडानलगायत काम भइसकेका छन्। 

'निर्माण सम्पन्नपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी थियो। उपमहानगरले फर्निचर तथा साउण्डसिस्टम जडान नभएको भन्दै बुझ्न मानेन', सूचना अधिकारी कलौनीले भने। 

उनले साउण्डसिस्टम जडानका लागि हामीले पटक-पटक सङ्घीय सरकारलाई बजेट माग गर्दा १५ लाख बजेट आएको छ तर, त्यसका लागि  ८० लाखदेखि एक करोडको हाराहारीमा बजेट आवश्यक पर्ने दाबी गरे।  

भदौ १५, २०८१ आइतबार ०९:०५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।