पूर्वीनाकाबाट १५ करोडको खुदो बंगलादेश पठाइयो

पूर्वीनाकाबाट १५ करोडको खुदो बंगलादेश पठाइयो

भद्रपुर (झापा) : पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार रूपैयाँ बराबरको मोलास्सेस (खुदो) बंगलादेश निर्यात भएको छ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बंगलादेश निर्यात भएको हो। 

चालु आव २०८१/८२ को भदौ दोस्रो सातासम्म तीन हजार पाँच सय ५५ दशमलव ६ मेट्रिक टन अर्थात् पाँच करोड ३१ लाख ९७ हजार बराबरको खुदो बंगलादेश निर्यात भएको थियो। 

भारतले बंगलादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजेन्ट नवीन दाहाल बताउछन्। भारतबाट मात्रै निर्यात भइरहेको खुदोमा भारी मात्रामा कर लगाउँदा आगामी दिनमा नेपालबाट खुदो बंगलादेश निर्यात हुने क्रम बढ्ने उनको भनाई छ।  

उनले आगामी कात्तिक/मङ्सिरदेखि उखु पेल्न सुरू भएसँगै ठूलो मात्रामा खुदो बंगलादेश निर्यात हुने बताए। 

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गालको फूलबारी, बङ्गलादेशको उत्तरीनाका बङ्गलाबन्ध हुँदै बंगलादेशसँग व्यापार हुँदै आएको छ।  

भदौ १५, २०८१ आइतबार ०८:१२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।