६६९ मेगावटको तल्लो अरुण जलविद्युत आयोजनाका लागि ६५ हेक्टर जमिन अधिग्रहण, २६८ परिवार प्रभावित

६६९ मेगावटको तल्लो अरुण जलविद्युत आयोजनाका लागि ६५ हेक्टर जमिन अधिग्रहण, २६८ परिवार प्रभावित

काठमाडौं : सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन्। 

निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ। 

'यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ', तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भने। 

प्रभावित स्थानीयलाई करिब एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ। 

तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ। नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो। 

भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ।  

भदौ १५, २०८१ आइतबार ०७:३३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।