सरकारको प्रवक्ताकै अराजक अभिव्यक्ति, सार्वजनिक कार्यक्रममा भने ‘आइजिपीको जिब्रो थुत्नुपर्थ्यो’
कास्की : सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवरको जिब्रो थुत्नुपर्ने विवादास्पद अभिव्यक्ति दिए।
कास्की पुगेका उनी एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालको कार्यक्रममा बोल्दै सङ्घीयता कार्यान्वयकोक्रममा प्रहरीका विषयमा छलफल हुँदा प्रहरी महानिरीक्षकले कानुन मान्दिन भनेको दाबी गर्दै उनले जिब्रो थुत्नुपर्ने टिप्पणी गरे।
उनले आफू गण्डकीको मुख्यमन्त्री हुँदाको अनुभव सुनाउँदै आफ्नो प्रहरी र कर्मचारी प्रशासन नभए प्रदेश सरकार सरकार जस्तो नहुने भन्दै सङ्घीय निजामती ऐन र सङ्घीय प्रहरी ऐन ल्याउने तयारी भइरहेको तर त्यही क्षेत्रकाले अवरोध गरिरहेको दाबी गरे।
सातै प्रदेशमा अलग-अलग प्रहरी संरचना बनाउँदा एक सङ्गठन नभई सात सङ्गठन हुने भन्दै अहिले छलफलमा रहेको सङ्घीय प्रहरी सम्बन्धी विधेयकमा प्रहरी नेतृत्वसहित उच्च अधिकारीहरूले असहमति जनाइरहेका छन्।
उनले त्यही प्रसङ्गमा आइजिपी कुँवरले यो कानुन मान्दिन भनिरहेको भन्दै ‘उनको जिब्रो थुत्नुपर्थ्यो’ भन्दै अराजक अभिव्यक्ति दिएका थिए।
भदौ १४, २०८१ शनिबार २३:०१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।