घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रूपैयाँ घटाएको हो।
 
आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रूपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोमिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ।
 
निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः एक सय ६०.५० रूपैयाँ, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः एक सय ५१.५० रूपैयाँ, एक सय ५३ र एक सय ५४ तोकेको छ। 

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर एक सय ३२ रूपैयाँ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ।
 
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई सूचीकृत गरेको छ।  
 
एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ। 

भदौ १४, २०८१ शनिबार २१:५८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।