समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता

समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता

बागमती : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्। 

जय नेपाल फाउण्डेशनले आज हेटौंडामा आयोजना गरेको ‘राजनीति नेतृत्वको सबक–युवा लक्षित आगामी दशक’ विषयक विचार गोष्ठीमा उनले महिला, मधेशी, आदिवासी जनजाति, दलितलगायत वर्ग तथा समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचन विधिबाट सुनिश्चित गरी संविधान संशोधन गर्न सकिने बताए। 

'महिलाको ३३ प्रतिशत र अरू समुदायको प्रतिनिधित्व नघट्ने गरी प्रत्यक्ष निर्वाचन विधिबाट समानुपातिक समावेशितालाई सुनिश्चित गर्दै संविधान संशोधन गर्न सकिन्छ। यसबाट महिलालगायत वर्गमा प्रत्यक्ष चुनाव लड्ने गरी नेतृत्वको विकास हुन्छ', उनले भने। 

प्रवक्ता महतले चुनौती स्वीकार गरेरै एमालेसँग पार्टीले सरकार गठनका लागि गठबन्धन गरेको दाबी गरे। 

'तेस्रो दल भएपनि हामीले सरकारको नेतृत्व गर्न माओवादीलाई दिएकै हो, स्थिरता कायम हुन सकेन। त्यसैले कांग्रेसले एमालेसँग सहकार्य गर्न पुग्यो,' उनले भने। 
 
उनले अब नेपालमा केही गर्न सकिँदैन, केही हुँदैन भनेर बन्दै गरेको भाष्य चिर्ने गरी काम गर्नुपर्ने आवश्यकता बताए। 

भदौ १४, २०८१ शनिबार २१:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।