'हसिनाको अभिव्यक्तिले युनुस निकै दुःखी छन्, भारतबाट फिर्ता गर्न आग्रह गर्नसक्छन्'
एजेन्सी : पूर्वप्रधानमन्त्री शेख हसिनालाई बंगलादेशकी सुपुर्दगीका लागि भारतलाई आग्रह गर्नसक्ने बंगलादेशका अधिकारीहरूले बताएका छन्।
बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले शेख हसिनाविरुद्ध मुद्दा बढिरहेका बेला हसिनालाई फिर्ता गर्न भारतसँग आग्रह गर्न सक्ने बताए। यसले भारत सरकारलाई अप्ठ्यारोमा पार्नसक्ने उनको भनाई छ।
ढाकामा रोयटर्स टिभीलाई दिएको विशेष अन्तर्वार्तामा होसेनले भने,'उहाँको विरूद्धमा धेरै मुद्दाहरू छन्। उहाँ भारतको राजधानी दिल्लीमा बस्दा प्रश्न उठ्न सक्छ। यदि गृह मन्त्रालय र कानून मन्त्रालयबाट अनुरोध आयो भने हामीले उहाँलाई बंगलादेश फर्काउन आग्रह गर्नुपर्ने हुनसक्छ र त्यसले भारत सरकारका लागि लज्जाजनक स्थिति सिर्जना गर्छ।'
बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि हसिना गत अगष्ट ५ मा हेलिकप्टरमार्फत् भारत भागेकी थिइन्। त्यसपछि बंगलादेशका सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिएको घोषणा गरेका थिए।
हसिना प्रधानमन्त्री रहेका समय विद्यार्थी समूहले सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षणमा व्यापक अनियमितता हुने गरेको भन्दै यसको खारेजीका लागि शुरू भएको आन्दोलन अन्ततः हसिनाको सत्ता बहिर्गमनको कारक बन्न पुगेको थियो। उनीविरुद्ध विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोह हिंसात्मक बनेको थियो।
ढाका ट्रिब्युनका अनुसार हसिनासहित २४ जनाविरुद्ध नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा मानव अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दर्ता गरिएको छ ।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार मानवअधिकार उल्लङ्घनबाहेक हसिनाविरुद्ध थुप्रै मुद्दा दर्ता भएका छन्।
मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकार पूर्व प्रधानमन्त्री हसिनाले भारतमा बसेर दिने अभिव्यक्तिप्रति ’निकै दुःखी’ रहेको र यसबारे भारतीय राजदूतलाई एक भेटमा अवगत गराएको वर्तमान सरकारका विदेशमामिला सल्लाहकार होसेनले बताए।
होसेनले रोयटर्स टिभीलाई दिएको अन्तर्वार्तामा भने, 'पूर्वप्रधानमन्त्रीबाट भारतबाट जसरी वक्तव्य आइरहेका छन्, त्यसबाट वर्तमान सरकारका प्रमुख प्रोफेसर युनुस निकै दुःखी हुनुहुन्छ। मैले यो कुरा भारतीय उच्चायुक्तलाई अवगत गराएको छु। वास्तवमा त्यहाँ केही गोप्य आधारहरू हुन सक्छन्। हामी आशा गरौं कि उनीहरूले सम्बन्धमा दरार आउने गतिविधिबारे सोचविचार गर्नेछन्।'
होसेनले सेप्टेम्बरसम्ममा बंगलादेशमा निर्वाचनको सम्भावनाबारे समयसीमाबारे जानकारी आउने बताए।
'सल्लाहकार परिषद्मा रहेका मेरा सबै सहकर्मीहरू वातावरणलाई सामान्य अवस्था फर्काउने काममा निकै व्यस्त छन्। मलाई लाग्छ सेप्टेम्बरदेखि सबै कुरा सामान्य हुनेछ, सामान्य अवस्था र सामान्य काम गर्ने तरिका सुरू हुनेछ', उनले भने।
रोहिङ्ग्यालाई शरण दिने विषयमा होसेनले बंगलादेशले आफ्नो हिस्साभन्दा बढी काम गरेको र थप रोहिङ्ग्र्या प्रवेश गर्न दिन सक्ने अवस्थामा नरहेको बताए। उनले भारतलगायत अन्य देशले पनि यसको जिम्मेवारी लिनुपर्ने बताए।
अन्तवार्तामा होसेनले भने, 'अन्य देशहरूले उचित देशहरूमार्फत अहिले रखाइन राज्यको मुख्य अभिनेता अराकान सेनामाथि दबाब दिनुपर्छ।'
ढाका ट्रिब्युनको रिपोर्टअनुसार बंगलादेशको अन्तरिम सरकारले हसिना, उनका सल्लाहकार, क्याबिनेटका पूर्व सदस्यहरू र १२ औं राष्ट्रिय संसदका सबै सदस्यहरूको राहदानी रद्द गरेको छ।
बंगलादेशको अन्तरिम सरकारले आफ्ना पति वा पत्नी र छोराछोरीको कूटनीतिक राहदानी पनि तत्काल प्रभावी हुनेगरी रद्द गरेको ढाका ट्रिब्युनले जनाएको छ।
-रासस/एएनआई
भदौ १५, २०८१ शनिबार २०:५४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।