अघिल्लो दिन श्रीमान्-श्रीमतीबीच भनाभन भएको थियो, भोलिपल्ट २ छोरीहरू केरा बगानभित्र मृत भेटिए

अघिल्लो दिन श्रीमान्-श्रीमतीबीच भनाभन भएको थियो, भोलिपल्ट २ छोरीहरू केरा बगानभित्र मृत भेटिए

काठमाडौं : मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मा रहेको केरा बगानभित्र दुई नाबालिका मृत अवस्थामा फेला परेका छन्।  

प्रहरीका अनुसार स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत भेटिएका १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू हुन्। 

दिउँसो साढे ४ बजेतिर दुई नाबालिकाको शव भेटिएको थियो। उनीहरूको शव भेटिए पनि आमा अस्मिता भने अझै नभेटिएको प्रहरीले जनाएको छ। तर, उनीहरूका बुवा अर्जुन भने प्रहरीको सम्पर्कमै रहेको छन्। 

धनकुटाको पाख्रिबास नगरपालिका-४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा-७ मालती टोलमा सीता रेग्मीको घरमा बस्दै आएका थिए। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार शुक्रबार साँझ अर्जुनसँग पत्नी अस्मिताको भनाभन भएको थियो। विवादपछि उनी छोरीहरूलाई लिएर राति नै हिँडेकी थिइन्। 

अरुण भने सवारी चालक रहेको प्रहरीले जनाएको छ। उनी बिहानै आफ्नो काममा लागे। आज बिहानै दुई वटा बच्चा मृत अवस्थामा देखेपछि  स्थानीयले प्रहरी चौकी गछियालाई जानकारी गराएका थिए।

बालिकाको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधिको बट्टा पनि फेला परेको छ। मृतक दुवै बालिकाको शवमा कुनै चोट पटक छैन। 

बालिकाको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। 

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिहेको छ।  

भदौ १४, २०८१ शनिबार २०:२४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।