भक्तपुरका बौद्धमार्गीहरूले मनाए पञ्चदान पर्व

भक्तपुरका बौद्धमार्गीहरूले मनाए पञ्चदान पर्व
फाइल

भक्तपुर : भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व आज बौद्धमार्गीहरूले भव्य रूपमा मनाए। नेपाल सम्वत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले यो पर्व प्रचलनमा ल्याएको इतिहास छ। 

आज पाँच दीपंकरहरूलाई भक्तपुर नपा-९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराएर त्यहाँ विशेष पूजा सम्पन्न गरेपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल-टोलमा परिक्रमा गराइएको छ। 

काठमाडौँस्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकरहरूलाई भक्तपुर नगर परिक्रमा गराइएको छ। 

यस पर्वमा बौद्धमार्गी नेवारहरूले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाइ अन्न, फलफूल र दक्षिणा दान दिएका छन्। बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत भने उक्त टोल-टोल पुगेर अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी भए। 

काठमाडौँ उपत्यका र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदान पर्व फरक र विशेष किसिमको रहेको स्थानीय देवचन्द्र बज्राचार्यले जानकारी दिए। भक्तपुरमा ऐतिहासिक तथा पुरातात्विक महत्व रहेको पाँचवटा महाविहारमा विराजमान दीपंकर बुद्धहरूलाई नगर परिक्रमा गराइएर पञ्चदान पर्व मनाइने उनले बताए। 

दीपंकर बुद्धसँगै बौद्धमार्गीहरू बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी हुने बज्रचार्यले जानकारी दिए।  भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा पुगेर सम्पन्न गरिने परम्परा छ। 

अपरान्ह पाँच दीपंकरहरूलाई टौमढीमा एकैपटक भेला गराइ संयुक्त पञ्चदान पर्व मनाएर समापन गरिन्छ। टौमढीस्थित पश्चिम डबलीमा पाँचवटै दीपंकरलाई लस्करै राखेर विभिन्न बाजागाजा बजाएर संयुक्त पञ्चदान गरिने बताइएको छ। 

यस पर्वको प्रमुख विशेषता गुँलाबाजा बजाउनु नै हो भन्दै पुष्परत्न शाक्यले टौमढीमा बौद्धमार्गीहरूले दानगाथा र स्त्रोत्र वाचनसँगै गुँलाबाजा बजाउने परम्परा रहेको सुनाए। 

बौद्धमार्गीहरुको पञ्चदान पर्वमा मात्रै बजाइने गुँलाबाजा दीपंकर बुद्ध यात्राको क्रममा परम्परागत गुँला धाः बाजा, प्वंगाबाजा, दाफा भजन शृङ्गभेरी बाजाको साङ्गीतिक समूहहरूले आआफ्नो बाजाको प्रदर्शनी गर्ने प्रचलन छ। विहार र बहीहरूमा संरक्षित बौद्ध सम्पदाहरूको प्रदर्शनसमेत गर्ने परम्परा छ। 

बौद्धमार्गीले आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र सोही दान पञ्चदान पर्वमा दिने प्रचलन रहँदै आएको शाक्यले बताए। 

भक्तपुर नगरपालिकासँगै मध्यपुर थिमि, काठमाडौँ, कीर्तिपुर, काभ्रेको नाला, बनेपा र चीनको ल्हासामा समेत पञ्चदान पर्व मनाइने प्रचलन रहेको बताइन्छ। 

भदौ १४, २०८१ शनिबार १९:३४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।