कांग्रेस पदाधिकारी बैठकको सहमति 'महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने'

कांग्रेस पदाधिकारी बैठकको सहमति 'महासमिति बैठकका प्रस्ताव सर्वसम्मत पारित गर्ने'

काठमाडौं : नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महासमितिमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्ने सहमति भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको बैठकमा महासमितिमा प्रस्तुत भएका सबै प्रस्तावलाई आइतबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरी सर्वसम्मत रुपमा पारित गर्ने सहमति भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ।  बैठकले सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्ने जनाइएको छ। प्रस्तावमा मस्यौदा गर्ने काम भने जारी रहेको छ।

केन्द्रीय समितिमा प्रस्तुत गरिने मस्यौदालाई अन्तिम रूप दिन भोलि दिउँसो १ बजे फेरि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्ने जनाइएको छ। 

गत माघमा ललितपुरमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको थियो।

महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्तावलगायत प्रस्ताव पेश भएका थिए। 

खासगरी महामन्त्री थापा ०८२ मंसिरभित्र महाधिवेशन गर्नुपर्ने, आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने अनि अर्का महामन्त्री शर्माको प्रस्तावमा रहेको एक्जिट पोलिसी अन्तर्गत एक पटक राष्ट्रपति र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने प्रस्ताव पेचिलो बनेको छ।  

भदौ १४, २०८१ शनिबार १८:५८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।