आइसीयूमा ‘प्यारालाइसिस’को उपचार गराइरहेकी एञ्जिलालाई सहयोगको अपिल

आइसीयूमा ‘प्यारालाइसिस’को उपचार गराइरहेकी एञ्जिलालाई सहयोगको अपिल

खोटाङ : देब्रेतिरको हात र खुट्टा नचल्ने समस्या भएकी बराहपोखरी गाउँपालिका-१ बराहपोखरीकी एञ्जिला परियारको उपचारका लागि सहयोग जुटाउन अभियान थालिएको छ। 

मस्तिष्कघातबाट प्यारालाइसिस भएपछि साउन ३२ देखि नोबेल अस्पताल विराटनगरमा आइसीयूमा राखेर उपचार गराइरहेकी एञ्जिलाको सहयोगार्थ बाराहापोखरी सेवा समाज खोटाङ, काठमाडौँको पहलमा सहयोग संकलन सुरू गरिएको हो।

विपन्न परिवारका एञ्जिलाको उपचारका लागि अझै सात लाख रूपैयाँ लाग्ने भएपछि भदौ ९ देखि वडा कार्यालयले दिएको सिफारिसका आधारमा ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको अभियानका संयोजक इन्द्रबहादुर लिमेलले बताए। 

एञ्जिलालाई उदयपुरको गाईघाट हुँदै विराटनगर पुर्याएपछि मस्तिष्कघात भएको र त्यही कारण देब्रेहात र खुट्टा नचल्ने समस्या भएको पुष्टि भएको थियो।

एञ्जिलाका बुबा मनोज परियारले भने, 'एञ्जिलालाई अझै दुई हप्ता आइसीयूमा राखेर उपचार गर्नुपर्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्। घरको आर्थिक अवस्थाले धान्ने स्थिति छैन। त्यसैले छोरीको जीवनरक्षाका लागि सबैसँग हात फैलाएका हौँ।'

एञ्जिलालाई सहयोग गर्न बराहापोखरी सेवा समाजको खातामा जम्मा हुनेगरी क्यूआर गरेर सहयोग रकम प्रदान गर्ने व्यवस्था मिलाइएको छ। 

भदौ १४, २०८१ शनिबार १८:३८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।