दलित अभियन्ता खगेन्द्र सुनारको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई

दलित अभियन्ता खगेन्द्र सुनारको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यका विभिन्न संरचनाहरूमा दलितहरूको समान प्रतिनिधित्व गराइनुपर्ने माग राख्दै काठमाडौंमा दलित समुदायले गरिरहेको आन्दोलनलाई समर्थन गरेका छन्। 

शनिबार काठमाडौंको माइतीघर पुगेर उनले दलित अभियन्ता खगेन्द्र सुनारले विगत २५ दिनदेखि गरिरहेको आन्दोलनलाई समर्थन गरे। 

भट्टराईले दलित अधिकारका निम्ति उठाइएको मुद्दा निकै गम्भीर रहेको भन्दै दलित अधिकार र समावेशीतालाई बलियो बनाउँदै जातीय भेदभावको जरैसम्म अन्त्य गर्नुपर्ने बताए। 

उनले आफूले दलित समुदायका निम्ति १०/१२ प्रतिशत समावेशी अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने प्रस्ताव संविधान बनाउने समयमा राखे पनि सफल हुन नसकेको बताए।

त्यसअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, रास्वपा सभापति रवि लामिछानेलगायतले खगेन्द्रको यस आन्दोलनलाई समर्थन गरिसकेका छन्। 

संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै सुनारसहितका अभियन्ताहरूले प्रदर्शन गर्दै आएका छन्। 

माइतीघरमा ‘दलितलाई मन्त्री खै?’, ‘दलितलाई बजेट खै?’, ‘दलितलाई राजदूत खै?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका उनीहरूको संघीय सरकार, प्रदेश सरकार र विभिन्न संवैधानिक निकायको नियुक्तिमा दलित समुदायलाई संवैधानिक व्यवस्था बमोजिम समानुपातिक प्रतिनिधित्व दिनुपर्ने माग छ।  

भदौ १४, २०८१ शनिबार १८:२३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।