जंगली हात्तीको त्रासले रातभर निदाउन सक्दैनन् बराहक्षेत्रका स्थानीय

जंगली हात्तीको त्रासले रातभर निदाउन सक्दैनन् बराहक्षेत्रका स्थानीय

काठमाडौं : सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराई नसुतेको एक हप्ताभन्दा बढी भयो। रातको समयमा जंगलमा दैनिक आउने जंगली हात्तीको गतिविधि निगरानी गर्नुपर्ने भएकाले उनी एक हप्तादेखि राति सुत्नै छाडे। 

उनले प्रत्येक रात टर्चलाइट बोकेर हात्ती धपाउनुपर्ने आफ्नो दिनचर्या नै भएको बताए। रातिको समयमा आउने हात्ती धपाउँदा धपाउँदै रात बित्ने गरेको उनको भनाइ छ। 

उनले दिनभरि बाहिर काम गरेर रातिको समयमा खाना खाएर आराम गर्नका लागि आएका बेलामा दैनिक जंगलबाट आउने हात्तीका कारणले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बताए। 

भट्टराई जस्तै बराहक्षेत्र-२ पुनर्वासका चन्द्रबहादुर मगरको अवस्था पनि उस्तै छ। भदौ १२ मा मात्र खाना खाएर सुतेको बेलामा आएको हात्तीको समूहले घरमा क्षति पुर्याएको उनले सुनाए। 

दैनिक रुपमा कोशी टप्पु वन्यजन्तु आरक्ष तथा अन्य जंगलबाट आउने हात्तीका कारणले स्थानीयमा समस्या थपिँदै गएको छ। 

यस क्षेत्रमा दैनिक रुपमा आरक्षबाट आउने हात्तीको कारणले आर्थिक तथा भौतिक क्षति गर्ने गरेको छ। हात्तीबाट पीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको भएपनि त्यसले पर्याप्त भएको छैन। 

क्षतिपूर्तिले मात्र सबै समस्याको समाधान नहुने भएकाले दीर्घकालीन रुपमा यसको समाधान खोज्नका लागि पटकपटक स्थानीयले माग गरेका छन्। तर, त्यहाँ भने स्थानीय सरकारलेसमेत प्रभावकारी योजना ल्याउन नसक्दा समस्या उस्तै रहेको उनीहरूको भनाइ छ। 

गाउँमा हात्ती पसेपछि बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की हात्ती धपाउन दमकल र नगरप्रहरी लिएर स्थलमै पुग्ने गरेका छन्। तर, नगर कार्यपालिकाले नीति तथा कार्यक्रम अनि बजेटमा हात्तीको व्यवस्थापनमा दीर्घकालीन योजना भने ल्याइएको छैन। हात्तीबाट आजित बनेका स्थानीयहरू मेयर कार्कीको हात्ती धपाउने अभियानलाई स्टन्टः भन्न थालेका छन् भने उनीहरूले पटकपटक दीर्घकालीन योजना ल्याउन आग्रहसमेत गरेका छन्। 

कोशीटप्पु आरक्ष प्रशासनसमेत हात्तीका कारणले समस्या हुँदै आएको र यसबाट पीडित भएकालाई सुविधा सहज रुपमा उपलब्ध गराउँदै आएको जनाएको छ। साउनदेखि यता अहिलेसम्म एक सयभन्दा बढी घरपरिवारले क्षतिपूर्तिका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा सिफारिसका लागि आएको बराहक्षेत्र-२ का वडाअध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए।  

भदौ १४, २०८१ शनिबार १४:३६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।