जर्मनीले २८ अफगानी नागरिकलाई एक हजार युरो खर्च दिएर आफ्नै देश फर्कायो
एजेन्सी : जर्मनीले २८ अफगान नागरिकलाई आफ्नो देश फिर्ता पठाएको छ।
उनीहरू सबैलाई शुक्रबार बिहान कतार एयरवेजको चार्टर प्लेनबाट एक हजार युरोसहित पठाइएको हो। विमानमा उनीहरूसँगै डाक्टर पनि पठाइएको थियो।
अफगानिस्तानमा तीन वर्षअघि तालिबानले सत्ता लिएपछि जर्मनीले पहिलोपटक यस्तो कदम चालेको हो।
तालिबानसँग जर्मनीको कूटनीतिक सम्बन्ध छैन, त्यसैले कतारले उनीहरूलाई अफगानिस्तान पठाउन मध्यस्थकर्ताको रूपमा काम गरेको हो।
बीबीसीका अनुसार जर्मन चान्सलरका प्रवक्ताका अनुसार यी २८ जना अपराधमा संलग्न रहेकाले स्वदेश फर्काइएको बताएका छन्। तर, उनीहरूको अपराधबारे भने केही खुलाइएको छैन। जर्मनीका आन्तरिक मामिला मन्त्री न्यान्सी फेगरले यो कदमलाई जर्मनीको सुरक्षाको मुद्दा भनेका छन्।
जर्मन पत्रिका स्पिगलका अनुसार सरकारले यसका लागि दुई महिनादेखि तयारी गरिरहे पनि सोलिङ्गेनमा चक्कु आक्रमणको एक हप्तापछि यो कदम चालिएको छ।
अगस्ट २३ मा सोलिङ्गेनमा छुरा प्रहारबाट तीन जनाको मृत्यु भएको थियो भने पाँच जना गम्भीर घाइते भएका थिए। प्रहरीले आक्रमणकारीलाई एक दिनपछि पक्राउ गरेको थियो।
संदिग्ध सिरियाली नागरिकले जर्मनीमा शरणको लागि आवेदन दिएका थिए। उनलाई गत वर्ष बुल्गेरिया पठाइने तय भए पनि जानुअघि बेपत्ता भएपछि पठाउन सकिएको थिएन।
सोलिङ्गेन आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। प्यालेस्टाइन र विश्वका अन्य भागमा मुस्लिमहरूको मृत्युको बदला लिन यो हमला गरिएको उसको तर्क छ।
यसै वर्ष मे ३१ मा जर्मनीको म्यानहाइममा एक प्रदर्शनका क्रममा अज्ञात आक्रमणकारीले चक्कु प्रहार गर्दा एक प्रहरी अधिकारीसहित सात जना घाइते भएका थिए।
यसपछि जर्मन चान्सलर ओलाफ स्कोल्जले यी अपराधमा संलग्न सिरियाली र अफगान नागरिकलाई आफ्नो देशमा पठाउने बताएका थिए।
भदौ १५, २०८१ शनिबार १३:२८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।