भारतको केदारनाथमा दुर्घटनाबाट बच्न हेलिकप्टर खसालियो

भारतको केदारनाथमा दुर्घटनाबाट बच्न हेलिकप्टर खसालियो

एजेन्सी : भारतको उत्तराखण्डस्थित केदारनाथबाट ‘एयरलिफ्ट’ गरिएको हेलिकप्टरलाई शनिबार विहान आठ बजे खसालिएको छ।

केस्ट्रेल एभिएसनको यो हेलिकप्टरलाई एमआई-१७ हेलिप्टरले बोकेर मर्मतका लागि गौचर एयरबेस लैजान लागिएको हेलिकप्टर खसालिएको हो।

एयरलिफ्टको क्रममा तीव्र हावाका कारण एमआई-१७ ले सन्तुलन गुमाएपछि पाइलटले सम्भावित दुघर्टनालाई मध्यनजर गर्दै हेलिकप्टरलाई सुरक्षित स्थानमा खसालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हावा र हेलिकप्टरको तौलका कारण एमआई-१७ को सन्तुलन बिग्रिएको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताएको समाचारमा उल्लेख छ।

चौबेले भने, ‘सन्तुलन गुमाएपछि एमआई-१७ पाइलटले सुझबुझ देखाउँदै सुरक्षित स्थानमा हेलिकप्टर खसालिदिए। यदि यस्तो नगरिएको भए एमआई-१७ हेलिकप्टर समेत दुर्घटना हुनसक्थ्यो। खसालिएको हेलिकप्टरमा कुनै सामान थिएन भने पाइलट पनि थिएनन्।’

खसालिएको केस्ट्रेल एभिएसनको हेलिकप्टरले मे २४ मा केदारनाथमा आपतकालीन अवतरण गरेको थियो। त्यसयता हेलिप्याडमै राखिएको थियो।

भदौ १४, २०८१ शनिबार १२:४८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।