हाइड्रोपावरको स्टोरबाट जेनेरेटरको पार्टपूर्जासहित एक क्विन्टल तामाको तार चोरी, तीन जना पक्राउ

हाइड्रोपावरको स्टोरबाट जेनेरेटरको पार्टपूर्जासहित एक क्विन्टल तामाको तार चोरी, तीन जना पक्राउ

पोखरा : हाइड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको पार्टपूर्जा चोरी गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा १४ मझेरीपाटन बस्ने वर्ष २९ को सुजन परियार, सोही वडाको आर्मी प्लटिङ बस्ने वर्ष ३७ को विकास खवास र पोखरा १५ खाल्टेमसिना बस्ने वर्ष २६ को निशान दर्जी रहेका छन्।

पोखरा महानगरपालिका-१४ मझेरीपाटन गोर्खा भिलेजस्थित सिभिल हाइड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ केभी ट्रान्समिसन लाइनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार र जेनेरेटरको पार्टपूर्जा गरी करिब छ लाख रुपैयाँ मूल्य बराबरको सामान चोरी भएको थियो।

उनीहरूले उक्त स्टोरबाट चोरी गरी ल्याएका तारको बाहिरी पत्र फालेर तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा पोखरा महानगरपालिका-१४ चाउथेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट बाहिरी पत्र फालिएको ९६ केजी ताामाको तार र ७ केजी तामाको टुक्रा बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए।

अभियुक्तहरूविरुद्ध कास्की जिल्ला अदालतमा चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।

भदौ १४, २०८१ शनिबार ०८:००:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।