गौतमबुद्ध रङ्गशाला निर्माणले गति लिँदै, दैनिक २५० कामदार खटिए

गौतमबुद्ध रङ्गशाला निर्माणले गति लिँदै, दैनिक २५० कामदार खटिए

भरतपुर : लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ।

सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो।

रङ्गशालाको स्थलगत निरीक्षण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै रङ्गशाला निर्माणको काम सन्तोषजनक रूमा अघि बढेको बताइन्।

‘कामले गति लिइसकेको छ। कामदारको सङ्ख्या पनि उल्लेख्य छ,’ उनले भनिन्, ‘तोकिएकै समयमा रङ्गशाला निर्माण हुनेमा भन्नेमा हामी विश्वस्त छौँ।’

महानगरपालिकाले हिमालयन कालिञ्चोक बीबीआर जेभीलाई ३० महिनाभित्र रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी जिम्मा दिएको हो। निर्माण कम्पनीले दुई हप्तादेखि फिल्डस्तरमा काम थालेको छ।

महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कामको सहजीकरणका लागि महानगरपालिकाले चार जनाको प्राविधिक टोली कार्यस्थलबाटै कार्यालय सञ्चालन गरिएको बताए।

उनका अनुसार यसअघिको डिजाइन परिवर्तन गरिएको छ भने दर्शक अट्ने क्षमता समेत घटाइएको छ। यद्यपि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी रङ्गशाला निर्माणले गति लिएको छ।

सरकारले आवश्यक सहयोग गरेमा सम्झौता अवधिभन्दा छिटो सक्नेगरी काम अघि अगाडि बढाइएको हिमालयन कालिञ्चोक बीबीआर जेभीका आयोजना प्रमुख विजय ढकाल बताए।

उनका अनुसार दुई सय ५० जना कामदार खटिएर धमाधम काम भइरहेको निर्माण स्थलमा पहिलो चरणमा रङ्गशालामा मैदान, ड्रेनऐज र दुई वटा तीन तलाको टावर निर्माण गरिनेछ।

धुर्मुस-सुन्तली फाउण्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रङ्गशाला निर्माण सम्झौता हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो। पहिलो चरणमा १५ हजार दर्शक अट्ने क्षमताको रङ्गशाला बन्नेछ।

फाउण्डेसनले यसअघि नै दुबो रोपेर मैदान बनाएको थियो। अहिले भने नयाँ प्रविधिको प्रयोग गरी पाँच वटा पिचसहितको मैदान बनाउन लागिएको हो। नयाँ माटो ल्याएर मैदानमा पानी नजम्ने बनाउन लागिएको ढकालको भनाइ छ।

महानगरपालिकाले ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो।

भदौ १५, २०८१ शनिबार ०७:३४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।