लिग-२ को तयारीका लागि राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा अभ्यास खेल खेल्ने
काठमाडौं : आईसीसी विश्वकप लिग-२ को क्रिकेटको तयारीका लागि नेपाली टोलीले श्रीलंकामा अभ्यास खेल खेल्ने भएको छ।
नेपाली राष्ट्रिय टोलीले श्रीलंका डेभलपमेन्टको स्वाडसँग तीन वटा एकदिवसीय अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
उसले श्रीलंका बसाइ र सिरिजको तालिका समेत सार्वजनिक गरिसकेको छ। क्यानका अनुसार नेपाली टोलीले ३, ५ र ७ सेप्टेम्बरमा अभ्यास खेल खेल्नेछ भने २, ४, ६ र ८ सेप्टेम्बरमा अभ्यास गर्नेछ।
श्रीलंका जानका लागि क्यानले रोहित पौडेलको नेतृत्वमा १९ सदस्यीय टोली समेत घोषणा गरेको छ। टिममा आसिफ शेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल रहेका छन्।
त्यसैगरी अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन्।
यसअघि टोलीले भारतको बैंग्लोरस्थित नेशनल क्रिकेट ऐकेडेमीमा १५ दिनको अभ्यास गरेको थियो। जसमा कप्तान पौडेल र दीपेन्द्रसिंह ऐरी सहभागी हुन सकेनन् भने सन्दीप लामिछाने बीचमा जोडिएका थिए।
नेपाली टिमले श्रीलंकामा अभ्यास गरेपछि क्यानडामा लिग टू खेल्न जाने नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
भदौ १५, २०८१ शनिबार ०७:१४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।