वरीयता मिचेर मुख्यसचिव बनाउँदा निजामतिमा हलचल, दुई सचिवले दिए राजीनामा

वरीयता मिचेर मुख्यसचिव बनाउँदा निजामतिमा हलचल, दुई सचिवले दिए राजीनामा
मुख्यसचिवमा नियुक्त भएपछि एकनारायणलाई शुक्रबार गृह मन्त्रालयबाट बिदाई गर्दै गृहमन्त्री रमेश लेखक।

काठमाडौँ : सरकारले वरियता मिचेर चौथो नम्बरमा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेपछि दुई सचिवले राजीनामा दिए। बिहीबार मन्त्रिपरिषद्को बैठकले वरियतामा चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिवमा नियुक्तिको निर्णय गरेको थियो।

निर्णयपछि शुक्रवार वरियतामा पहिलो नम्बरमा रहेका योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका थिए। शुक्रवारै वरियतामा तेस्रो नम्बरमा रहेका महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि  राजीनामा दिए। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदीले भने राजीनामा दिएका छैनन्।

शुक्रवार राजीनामा दिएका ज्ञवाली सचिवको पाँच वर्षीय पदावधिका आधारमा भदौ २२ मा अवकाशमा जाँदै थिए। सुवेदीको कार्यकाल कात्तिक ५ सम्म छ भने भट्टराई ले माघ २९ मा अवकाश पाउँदै थिए।

सरकारले वरिष्ठता र कार्यकुशलतालाई आधार बनाएर मुख्यसचिव नियुक्त गर्न सक्ने कानुनी प्रावधान रहेको छ। प्रधानमन्त्री केपी ओली निकट मानिएका अर्याल वरियतामा पछाडि रहे पनि सरकारले कार्यकुशलतामा टेकेर उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गर्यो। उनी वरियतामा चौथो नम्बरमा थिए।

असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि निमित्त भएकी लीलादेवी गड्तौलालाई सरकार बदलिएर ओली प्रधानमन्त्री भए लगत्तै मुख्यसचिवमा नियुक्त गरेको थियो।  उनले निजामती प्रशासनमा पहिलो महिला मुख्यसचिवको इतिहास निर्माण गर्दै शुक्रवार अवकाश पाइन्।

सम्बन्धित समाचार

भदौ १३, २०८१ शुक्रबार २३:४०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।