राष्ट्रिय लिगका लागि प्रशिक्षणमा रहेका खेलाडीलाई पन्छाएर नयाँ खेलाडी छानेपछि सुदूरपश्चिम फुटबलमा विवाद
सुदूरपश्चिम : काठमाडौँमा हुने राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा प्रशिक्षणमा रहेका महिला खेलाडीलाई नछानी अन्य खेलाडी छानेपछि विवाद भएको छ।
सुदूरपश्चिम प्रदेशबाट प्रशिक्षणमा रहेका २६ खेलाडीलाई नछानी बिहीबार नयाँ १८ खेलाडी छानेपछि विवाद भएको हो। २६ जना खेलाडी एक महिनादेखि प्रशिक्षणमा थिए। तर उनीहरूमध्ये कोही पनि टिममा परेनन्।
महिला टोलीकी कप्तान अञ्जली चन्दले एक महिनादेखि २६ खेलाडी प्रशिक्षणमा रहेको तर नयाँ १८ खेलाडीको छनोट गरेर प्रशिक्षणमा रहेका खेलाडीप्रति अन्याय गरिएको बताइन्।
क्वालिफाई गर्नुअघि छनोट प्रक्रिया पूरा भएर खेलाडीको नाम दर्ता भइसक्दासम्म प्रशिक्षणमा रहेकालाई अवसर नदिएर नयाँ १८ खेलाडी सहभागी गराइएको उनले बताइन्।
पढाइ र घर छोडेर एक महिनादेखि प्रशिक्षण गरिरहेका खेलाडीप्रति नयाँ प्रशिक्षकबाट अन्याय गरिएको क्याप्टेन चन्दले बताइन्। प्रशिक्षणमा रहेका सबै खेलाडीलाई लिग प्रतियोगितामा सहभागी गराउनुपर्ने महिला खेलाडीको माग छ।
राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि सुर्खेतमा हालै भएको पहिलो चरणको छनोटमा सुदूरपश्चिम प्रदेशको महिला फुटबल टोली दोस्रो भएको थियो। दोस्रो चरणको छनोट काठमाडौँमा हुन लागेको हो।
प्रशिक्षक सुरज तामाङ र राघव कार्कीसँग प्रदेश फुटबल सङ्घले कुनै समन्वय नै नगरी आफूखुसी नयाँ प्रशिक्षक दीपु लामालाई नियुक्त गरेको र उनले नै खेलाडी छानेका हुन्।
सुदूरपश्चिम प्रदेश महिला फुटबल टोलीका संयोजक राघव कार्कीले महिलातर्फको राष्ट्रिय फुटबलमा विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको महिला टोलीपछि चौथो स्थानमा सुदूरपश्चिम प्रदेशको महिला फुटबल टोलीको स्थान रहेको बताए।
सार्क स्तरीय अन्डर–१९ को महिला फुटबल टोलीमा सहभागी राष्ट्रिय टोलीमा सुदूरपश्चिम प्रदेशका आठ महिला फुटबल खेलाडी सहभागी थिए। राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता भदौ १६ गतेदेखि काठमाडौँमा हुन लागेको हो।
भदौ १३, २०८१ शुक्रबार २३:१७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।