अढाई महिनापछि हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा, ४० वर्षदेखिका उपकरण तत्कालै फेर्नुपर्ने अवस्थामा

अढाई महिनापछि हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा, ४० वर्षदेखिका उपकरण तत्कालै फेर्नुपर्ने अवस्थामा

मकवानपुर : हेटौंडा-९ लामसुरस्थित हेटौंडा सिमेन्ट उद्योगले अढाई महिनापछि क्लिङ्कर उत्पादन सुरू गरेको छ। उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ कोइला अभाव, उत्पादन भएको सिमेन्ट बिक्री नहुने, बिग्रेका मेसिन मर्मत गर्ने रकम अभावजस्ता कारणले अढाई महिनादेखि हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको थियो।

उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री हुन नसकेका कारण केही महिनाअघिसम्म समस्या थियो तर अहिले उद्योगमा करिब तीन हजार पाँच सय बोरा तयारी सिमेन्ट मौज्दात रहेको हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए।  

उनले करिब २० दिनका लागि आवश्यक कोइला मौज्दात राखेर उद्योग सञ्चालन सुरू गरिएको बताए। 

उद्योगले उत्पादन गरेको सिमेन्ट बिक्री नभएपछि स्टकमा बसेको र कोइला खरिद गर्न रकम अभाव भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए। उद्योगले केही दिनअघि मात्र कोइला खरिद गरेको उनको भनाई छ। 

भारत, इन्डोनेसिया र भूटानबाट उद्योगलाई आवश्यक पर्ने कोइला बोलपत्रमार्फत आपूर्ति गर्दै आएको छ।

महाप्रबन्धक कर्णले कच्चापदार्थभन्दा पनि चार दशक पुराना मेसिन पटकपटक बिग्रेर मर्मत गर्ने काममा समस्या रहेको जानकारी दिए। उद्योगलाई आवश्यक पर्ने कोइला उद्योगमा मौज्दात भएपछि पुनः सिमेन्ट उत्पादन सुरू गरिएको हो। 

तत्कालीन सरकारले २०३३ सालमा हेटौंडा-९ लामसुरेमा सिमेन्ट उद्योग स्थापना गरेको हो। तत्कालीन समयमा एक अर्ब ३८ करोड ९० लाखको लागतमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगले २०४३ मङ्सिर २६ देखि व्यावसायिक उत्पादन सुरू गरेको थियो। 

पछिल्लो पाँच वर्ष यो उद्योग घाटामा सञ्चालन भइरहेको छ। विद्युत् महसुल बढेको र सिमेन्टको बजार मूल्य घटेका कारण पनि उद्योगले घाटा ब्यहोर्नु परेको बताइएको छ।

उद्योगका मेसिनरी उपकरण चार दशक पुरानो भएकाले केही उपकरण तत्कालै फेर्नुपर्ने अवस्थामा रहेको अध्यक्ष भण्डारीले सुनाए। 

उद्योगमा मौज्दात रहेको तयारी सिमेन्ट बिक्री गरी असार मसान्तसम्मको तलब भत्ता उपलब्ध गराइएको बताइएको छ। उद्योग पूर्ण रुपमा बन्द भएको अवस्थामा पनि तलबभत्तामा मात्र मासिक करिब एक करोड खर्च आउने अध्यक्ष भण्डारीको भनाई छ। 

कुनै समय एक हजार कामदार कर्मचारीले काम गर्ने हेटौंडा सिमेन्ट उद्योगमा अहिले स्थायी, अस्थायी, दैनिक ज्यालादारीका समेत तीन सय कामदार कर्मचारी कार्यरत छन्।

भदौ १३, २०८१ शुक्रबार २२:००:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।