सबै जातजाति र समुदायका भावनालाई समेटेर अझ राम्रो संविधान बनाउने प्रयास भइरहेको देउवाको दाबी

सबै जातजाति र समुदायका भावनालाई समेटेर अझ राम्रो संविधान बनाउने प्रयास भइरहेको देउवाको दाबी

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा द्वन्द्वक्रममा भएका घटनालाई बिर्सेर समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नुपर्ने बेला आएको बताएका छन्। 

पत्रकार दीर्घराज उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ नामक पुस्तकको लोकार्पण गर्दै उनले विगतको द्वन्द्वपछि स्थापना भएको शान्तिलाई दिगो बनाउँदै सबै वर्ग र समुदायका जनताको पूर्ण सहभागितामा समृद्ध समाज निर्माणमा जुट्नुपर्ने बताए। 

उनले भने, 'सबै नेपालीको मर्म र भावना अटाउने संविधानलाई समयसापेक्ष तुल्याउँदै जानुपर्छ। हामी सबै मिलेर डर-त्रास र भयबाट मुक्त समाज बनाउने कार्य गरौँ। त्यसका लागि सरकारले प्रयास गरिरहेको छ।'

एउटा सभ्य समाजका लागि लोकतन्त्र र मानवअधिकार सबैभन्दा ठूलो विषय रहेको भन्दै उनले वर्तमान संविधान समावेशी भएकाले सबै जातजाति र समुदायका भावनालाई समेटेर अझ राम्रो र साझा बनाउने प्रयास भइरहेको दाबी गरे। 

'विगतमा ठूलो द्वन्द्व थियो, धेरै लडाइँ भयो। कसैले जित्ने र हार्ने विषय थिएन। राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग र योगदानका आधारमा वार्ताका माध्यमबाट मुलुकमा शान्ति स्थापना भयो। अब यस उपलब्धिलाई संस्थागत गर्दै लैजानुपर्ने आवश्यकता छ', उनले भने। 

सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक सर्वसम्मतिबाट पास भई प्रमाणीकरणसमेत हुनु द्वन्द्व व्यवस्थापनका लागि ठूलो उपलब्धि भएको उनको भनाई छ।  

भदौ १३, २०८१ शुक्रबार २१:५१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।