इन्स्पेक्टर हुँ भन्दै लुटपाट गरेको आरोपमा २ जना पक्राउ

इन्स्पेक्टर हुँ भन्दै लुटपाट गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँ भन्दै सुनको सिक्री लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-४ घर भइ हाल काठमाडौं महानगरपालिका-८ कालोपुल बस्ने २५ वर्षीय सुमन तामाङ भन्ने मिङमार तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। 

पक्राउ परेका तामाङले गएको साउन २२ मा काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौं डल्लु बस्ने तीर्थ लाल तामाङलाई आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोसाकको प्रहरी निरीक्षक हुँ भन्दै सुनको एक तोलाको सिक्री र नगद ६७ हजार लिई फरार भएको उजुरीका आधारमा पक्राउ गरिएको हो।

ठगी गरेको सुनको सिक्री खरिद गर्ने बाग्लुङ काटेखोला गाउँपालिका–२ घर भई हाल काठमाडौं टोखा नगरपालिका-९ गोङ्गबुस्थित बाग्लुङ भगवती सुनचाँदी पसल सञ्चालन गरी बस्ने ६३ वर्षीय बलबहादुर सुनारलाई पक्राउ गरिएको सूचना अधिकारी आचार्यले दिए। 

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

भदौ १३, २०८१ शुक्रबार २१:१३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।