'विमान दुर्घटनाहुँदा नागरिकले सामाजिक सञ्जालमा विज्ञता देखाएर विश्लेषण गर्नु आफैंमा लज्जास्पद'

'विमान दुर्घटनाहुँदा नागरिकले सामाजिक सञ्जालमा विज्ञता देखाएर विश्लेषण गर्नु आफैंमा लज्जास्पद'

काठमाडौं : जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि उठेका प्रश्नहरूमा आत्तिहाल्नुपर्ने जरुरी नभएको बताएका छन्।

शुक्रबार कर्मचारी एकता मन्च, नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राउतले कुनै पनि विमान दुर्घटनामा पर्दा प्राविधिक कारणले भन्दापनि नागरिकहरूले सामाजिक सञ्जालमा विज्ञता देखाएर विश्लेषण गर्नु आफैंमा लज्जास्पद भएको बताए।

उनले भने, ‘पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि गम्भीर प्रश्नहरू उठेका छन्। तर, यसो भन्दैमा आत्तिहाल्नुपर्ने जरुरी छैन। कुनैपनि विमान दुर्घटना पर्दा कुनै अन्य प्राविधिक कारणले भन्दा पनि नागरिकहरूले सामाजिक सञ्जालमा विज्ञता देखाएर विश्लेषण गर्ने गर्दछन्। यसले देशको छविमा कस्तो प्रभाव पार्न सक्छ भनेर जिम्मेवार नागरिकको हैसियतले लाग्नुपर्दछ।’ 

उनले नेपाल हरेक दृष्टिकोणको हिसाबले विविधतापूर्ण हुनुपर्ने बताए। विविधतापूर्ण भयो भने हाम्रो समाजको लागि सकारात्मक सन्देश दिन सजिलो हुने उनको भनाई छ। 

उनले भने, ‘नेपाल हरेक दृष्टिकोणको हिसाबले विविधतापूर्ण देश भएको हुनाले संसदमा होस् वा अन्य कुनै ठाउँमा विविधतापूर्ण भयो भने त्यो समाजको लागि सकारात्मक हुन्छ। यदि एउटा अथवा दुईवटा मात्र संगठनहरू भयो भने त्यसले आवाज पनि उठाउन सक्दैन। कुनै कुनै देशमा रुलिङ पार्टीको मात्र संगठन हुन्छ। त्यसले त सरकारको विरोध नै गर्न सक्दैन। सरकारले जे जे भन्यो त्यहीँ गर्नुपर्ने हुन्छ। त्यसैले बढी संगठनहरू भए भन्दैमा नकारात्मक रुपमा लिनुहुँदैन।’ 

भदौ १३, २०८१ शुक्रबार २०:५५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।