पेरिस पारा ओलम्पिक : नेपालकी पलेशा क्वाटरफाइनलमा

पेरिस पारा ओलम्पिक : नेपालकी पलेशा क्वाटरफाइनलमा

काठमाडौं : नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारा ओलम्पिकको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन्। फ्रान्सको पेरिसमा केहीबेर अघि सम्पन्न खेलमा उनले भेनेजुएलाकी भलेरिया मोरालेसलाई पराजित गरिन्।

पलेशाले भेनेजुएलाकी मोरालेसलाई ३१-० अङकले पराजित गरिन्। उनी पहिलो चरणमा के-४४ विधाअन्तर्गत महिला ५७ किलो मुनिको तौलमा विजयी भएकी हुन्। 

पलेशाले अब क्वाटरफाइनलमा ब्राजिलकी मायारा सिल्भाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्ने छिन्। फर्नान्डेज बाई पाउँदै सिधै क्वाटरफाइनलमा प्रवेश गरिन्। 

गत चैतमा चीनको ताइयानमा भएको पारा ओलम्पिकको एसियाली छनोट प्रतियोगितामा पलेशाले स्वर्ण पदक जित्दै पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी हुन्। छनोट चरण पार गर्दै पारा ओलम्पिक खेल्ने उनी पहिलो नेपाली खेलाडी हुन्। 

गत वर्ष चीनको हाङजाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पलेशाले कास्य पदक प्राप्त गरेकी थिइन्। 

यसअघि बिहीबार सम्पन्न खेलमा नेपालका भरतसिंह महता तेक्वान्दोको के-४४ विधाको पुरुष ५८ किलो मुनिको तौलमा जापानका मित्सुया  तानाकासँग १९-३ अङ्कले पराजित भएका थिए। 

उनी ‘वाइल्ड कार्ड’मार्फत पेरिस ओलम्पिकका लागि छनोट भएका थिए। 

भदौ १४, २०८१ शुक्रबार २०:३२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।