जातका कुरा : 'डुम' भन्ने धामीलाई चारपाटा मुडेर जब डाँडा कटायो अनि रणसिंहले निर्णय गरे 'अब माओवादी बन्छु'
२०४८ तिर, हुम्लाको श्रीनगरमा एउटा भव्य दलित आमसभा डाकियो। पाँच सय बढी उपस्थिति भएकोमा अधिकांश दलित नै थिए। त्यसबेला हुम्लामा चक्रबहादुर फडेरा (क्षेत्री) प्रभावशाली मानिन्थे। उनी थिए एमालेमा। अझ त्यहाँका गाउँलेहरूलाई त उनीबारे 'जातिपाती नमान्ने ठुलो कम्युनिस्ट नेता' भन्ने बुझाइएको थियो।
हुन पनि ती सर्वहारा दलितहरूलाई के एमाले, के कांग्रेस, के मतलब थियो र! उनीहरूलाई कसले जातिपाती मान्दैन, कसले आफूले छोएको खान्छ, त्यही व्यक्ति नेता लाग्थ्यो। उनीहरूको प्रिय भइहाल्थ्यो। नभन्दै त्यहाँ पनि त्यस्तै भयो।
आमसभाको कार्यक्रम चलिरहेकै थियो। दलितहरूका विषयमा नेताहरूले कुरा राख्दै थिए। त्यत्तिकैमा, उनै चक्रबहादुर फडेराले एकजना दलितलाई स्टेजमै आम्खोराबाट पानी भर्न लगाए। अनि ती सयौँको अगाडि पानी पिए। अनि दलितको पक्षमा लामै भाषण गरे।
दलितहरू त्यो देखेर त्यसै मक्ख। खुसीहुँदै उनीहरूले ताली बजाए, फडेराको पक्षमा नाराबाजी गरे। त्यही खुसी हुनेहरूमध्येका एक थिए, श्रीनगरकै स्थानीय रणसिंह परियार।
त्यसबेला रणसिंह एमालेको सङ्गठित सदस्य भएको केही महिना मात्र भएको थियो। आफ्ना नेताले त्यसरी आफ्नो हातबाट पानी खाँदा रणसिंहको खुसीको सीमा थिएन।
'उहाँले त्यसरी पानी खाँदाको खुसी कसरी भन्नू र खै! उहाँलाई पानी खाँदा न बान्ता भयो, न पखाला लाग्यो, न त बिरामी नै हुनुभयो। उहाँले हाम्रो वर्गप्रति गरेको माया भन्ने लाग्यो,’ उनले त्यो बेलाको खुसी सम्झिए।
दलितहरूलाई आकर्षित गर्न उनीहरूको हातबाट पानी खाएका चक्रबहादुर फडेरालाई पनि सजिलो त कहाँ थियो र! दलितको हातको पानी खाएको भन्दै गैर दलितको एक समूह उनलाई भोट नदिने पक्षमा उभिए।
'त्यसले ‘डुम’को हातको पानी खायो भनेर उहाँलाई यति खिल्ली उडाइयो कि, त्यो सहन नसकेर आफ्नो निर्णयबाट उहाँ ब्याक हुनुभयो। त्यसपछि लुकीछिपी दलितको हातबाट पानी खाइहाले पनि गैर दलितले देख्ने गरि त्यसो गर्न सक्नुभएन। मैले त्यसलाई निरन्तरता दिनुस् भनेँ तर, उहाँले मान्नुभएन, उनले सम्झिए।
त्यसपछि नै हो, रणसिंहको एमालेप्रति मन मरेको। उनलाई नेताको देखाउने दाँत र चपाउने दाँत फरक फरक हुने रहेछन् भनेजस्तो लाग्यो। समाज सुधार्छु भनेर कम्युनिस्ट (एमाले) बनेका रणसिंह आफ्नै नेताको दोहोरो चरित्र देखेपछि दिक्क भए। त्यसपछिका दिनहरूमा त अझ चुनावी घरदैलोको क्रममा बाहिरै बसेर भोट माग्नुपर्ने, पानी खाँदा बाहिरै बस्नुपर्ने भएपछि त झन् मन कुँडियो।
'दलितको हातबाट पानी खाँदै जाने हो भने भोलि हामीलाई यो समाजले मत पनि दिँदैनन्' भनेर आफ्ना नेताले जवाफ दिएपछि अब रणसिंह पार्टी राजनीतिमा सक्रिय भइरहेनन्।
अलि पछि त उनलाई अनुभूति भयो, 'जातपात नमान्ने भएर कम्युनिस्ट पार्टीमा लागेको तर, दलित तल्लै जात भइरह्यौँ । अनि हाम्रा गैर दलित नेताहरू ठुलै भइरहने भए । अनि केका लागि राजनीति भनेर शिक्षणतिर लागेँ।'
OOO
४७ वर्षअघि रणसिंह हुम्लाको श्रीनगरमा जन्मिए। त्यसबेला दलितलाई पढ्न सहज हुने कुरै थिएन। उनको परिवारमा कोही विद्यालय गएका थिएनन्। त्यसैले पनि होला, उनको परिवारमा पढाउनुपर्छ भन्ने चेत थिएन।
तर, सबैले पढेको देख्दा रणसिंहलाई पढ्न मन लाग्यो। घरबाटै विद्रोह गरेर उनले गाउँकै दलित समुदायको एक्लो विद्यार्थीका रूपमा विद्यालयमा पाइला टेके। राम्रो पढ्न पनि थाले।
फेरिपनी गाउँका ठूलाठालुले 'फलाना दमाईको छोरा किन स्कुल गएको, उसले किन पढ्नुपर्यो, लुगा सिउने जातले पढेर के गर्छ?' भन्दै रणसिंहको परिवारलाई दबाब दिइरहे। सायद त्यसकारण पनि हुनसक्छ, त्यस अघिसम्म रणसिंहको गाउँका कुनै पनि दलितले विद्यालय जाने आँट गरेका थिएनन्।
सुरुमा विद्यालय जान अलि बढी सामाजिक र पारिवारिक सङ्घर्ष गर्नु परेका रणसिंहलाई २ कक्षातिर पुग्न थालेपछि सङ्घर्ष कम हुन थाल्यो। उनले यति धेरै मेहनत गरेर पढ्न थाले कि, शिक्षकले पनि 'तँ दमाईकै छोरो भए पनि राम्रो पढाइ छ, तेरो दिमाग पनि छ, अब तैँले पढ्नुपर्छ, तलाईं पढ्न नदिन खोज्ने गाउँलेहरूलाई हामी भनिदिन्छौ' भन्न थाले। अनि अलि सहज हुन थाल्यो। अनेकन् अड्चन झेलेर उनले स्थानीय जनकल्याण प्राविबाट कक्षा चारसम्मको पढाइ सके।
तर विद्यालयमा पानी अलग्गै खानुपर्थ्यो। वनभोज कार्यक्रममा चामल, दाललगायतका ठोस पदार्थ चल्थ्यो तर, तेल, घिउ चल्दैनथ्यो।
०४८ तिर रणसिंहको विद्यालयबाट शिक्षकसहित ७ जनाको टोली जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा भाग लिन सदरमुकाम सिमीकोटतर्फ जाँदै थियो। बाटो लामो भएकाले बिच बाटोमा खाना पकाएर खानुपर्थ्यो। सदरमुकाममा पनि रणसिंहले साथीहरूसँगै बस्न पाएनन्, उनी अलग्गै बसे। तर प्रतियोगिताको टोली नेता रणसिंह नै थिए। त्यो प्रतियोगितामा रणसिंहको विद्यालय दोस्रो पनि भयो।
त्यसपछि सूर्योदय मावि पढ्न थालेका रणसिंहले २०५० मा त्यही विद्यालयबाट एसएलसी दिएर राम्रो नम्बरमा उत्तीर्ण भए। हुम्लाबाट दलित समुदायबाट पहिलो एसएलसी उत्तीर्ण गर्नेमा उनी नै थिए। ‘प्लस टु’का लागि सूर्योदय उच्च मावि श्रीनगरमा भर्ना भए । तर पूरा गर्न पाएनन्। घरको आर्थिक स्थिति पनि बाधक बन्यो।
आफ्नो जग्गा-जमिन थिएन। बालिघरे प्रथा अनुसार लुगा सिलाएर उनका बुवाले परिवारको गुजारा चलाइरहेका थिए। कक्षा ७ देखि ९ सम्मको पढाइ जिल्ला शिक्षा कार्यालयको समन्वयबाट आएको मासिक ५० रुपैयाँको जेहनदार छात्रवृत्ति पाएर पढेका उनले आइएपछि पढाई अघि बढाउन सकेनन्।
OOO
०५० देखि उनले अध्यापन गर्न थाले। सानै उमेरमा जागिर पाएको भए पनि हुम्लामै पहिलो दलित शिक्षक बने उनी। त्यसबेला हुम्लाकै हिमाली प्राविमा पढाउन गएका थिए। घरबाट धाउन टाढा भएपछि उनले ठकुरीको घरमा डेरा लिएर बसे।
एक वर्षसम्म त्यहाँ पढाइरहँदा उनले एकदिन पनि त्यो परिवारसँगै बसेर खान पाएनन्। खाना दिँदा बाहिर अलग्गै राखेर दिन्थे। आफूले खाएका भाँडाकुँडा पनि बाहिर अलग्गै राख्नुपर्थ्यो। पेसाले मास्टर थिए, मान-सम्मान थियो। तर, जातले दमाई थिए, त्यसैले खानेबेला सधैँ बाहिर बसेर खानुपर्ने।
उनको सरुवा चङ्खेली प्राविमा भयो। त्यहाँ पनि उनले बाहिर बसेर खानुपर्ने नियत टारिएन।
'त्यो त हिउँ पर्ने ठाउँ हो। अन्त्य जाडो समय होस् वा झरीको समय होस्, बाहिरै बसेर खानु पर्दाको पीडाले मलाई अहिलेसम्म बिझिरहन्छ,' उनले सम्झिए।
अझ त्यहाँ त विद्यालयमा हुने विभेद थपिँदै गयो। सँगैका शिक्षकहरूले रणसिंहले छोएको नखानेसम्म त थिदैथियो। स्कुलभित्रै आफूले खाएका भाडा आफैंले धुनुपर्ने, तथाकथित दमाई भएकै कारण क्षमतामाथि पनि प्रश्न गरिने विभेद थपियो।
विद्यार्थीले पनि ठाडै 'दमाई मास्टर' भनेर बोलाउने गरेको तीतो अतीत उनले बिर्सिएका छैनन्।
त्यस्तो भन्दा मनमा कस्तो अनुभूति हुन्थ्यो? जबाफमा उनले भने, 'अहो, के भन्नू र! रणसिंह सर भनिदिए पनि हुन्थ्यो भनेजस्तो लाग्थ्यो। तर, दमाईसर भन्दा पीडा भइरहन्थ्यो।'
OOO
'कक्षा ७ मा पढ्दैखेरीको कुरा हो। मेरो बाबा सिलाएको लुगा पुर्याउन बिस्टकोमा जाँदा मलाई पनि सँगै लिएर जानुहुन्थ्यो। जब हामी कुनै बिष्ट (बालिघरे प्रथा अनुसारको साहु) कोमा सिलाइसकेको लुगा लिएर जान्थ्यौँ, हामीलाई बाहिरै राखेर खानेकुरा दिन्थे। मलाई लाग्यो, बाबाले सिलाएकै कारण बाहिर राखेर खानुपर्ने रहेछ भने म अब लुगा सिलाउँदिनँ,' उनले सम्झिए।
बुबाले बाहिर बसेर खाएकै देखेपछि उनले त्यसको कारण खोज्दै गए। त्यसको कारण जात भएको पत्ता पाए अनि समाधान खोज्न थाले। त्यतिबेला आजका दलित समुदायलाई 'तल्लो जात' भनिन्थ्यो। दलित शब्द ११ सालबाटै सुरु भएको भए पनि माओवादीको जनयुद्धपछि र अझ बढी ०६३/६३ पछि मात्रै दलित शब्द थप सशक्त बनेको हो।
कक्षा ७ मा पढ्दै खेरि कम्युनिस्टहरू भनेका 'तल्लो जात'का लागि हुन् भन्ने सुनेका थिए रणसिंहले। अनि राजनीति गर्नुपर्छ भन्नेमा पुगे।
उनी अनेरास्ववियुको गोप्य सङ्गठनमा बसेर काम गर्न थाले, ०४५ बाट। पढाइ पनि चलिरहेको भएर त्यति धेरै सक्रिय हुन नपाएका उनले ०४८ मा गोरखबहादुर बोगटीको हातबाट एमालेको सङ्गठित सदस्यता लिए। ०४९ सालमा अनेरास्ववियुको जिल्ला उपाध्यक्ष भएपछि भने उनको एमालेको राजनीति मोटामोटी रूपमा बिट मरिसकेको थियो।
त्यसपछि पनि एमालेनिकट शिक्षक सङ्गठनमा भने बसे। तर, चक्रबहादुर फडेरा प्रकरणबाट उनको मन एमालेतिर फर्किएन। ०५६ मा एमाले फुटेपछि वामदेव गौतम 'किसानका नेता, दलितका नेता' भन्ने बुझेका उनी मालेको जिल्ला सल्लाहकार सदस्यमा बसे।
OOO
रणसिंहको जीवन शिक्षण पेसामै हाँसीखुसी चलिरहेको थियो। ०५७ मा रणसिंह बस्ने घरमा तत्कालीन विद्रोही माओवादीको प्रवेश भयो। त्यसअघि पनि उनले माओवादीलाई नियालिरहेकै थिए। दुर्गमका बस्ती-बस्तीमा माओवादीको प्रभाव परेको देखेका थिए। शिक्षक पेसामा रहँदै सहयोग गरेका पनि थिए।
तर, दिन आयो ०५७ को साउन महिनातिर। बिहानै झिसमिसेतिर एकजना माओवादी नेता रणसिंहको घरमा आए। उनी थिए अहिले हुम्लाबाट माओवादीको प्रतिनिधि सभा सदस्य बनेकी छिरिङ लामा तामाङ। उनले रणसिंहसँग धेरै केही भनेनन्, केही थान पुस्तकहरू दिए। अनि धेरै दिनको भोकै भएको भदै खानेकुरा मागे।
तर, रणसिंहलाई फेरि अचम्म लाग्यो। 'तपाईँ पनि हाम्ले बनाको खानुहुन्छ र?' उनले सोधेहाले। किनभने त्यसअघि एमालेका नेताहरूले आफ्नो हातको नखाएको सम्झना झल्झल्ती थियो।
त्यसपछि उनले खाना बनाएर दिए। त्यो दिन यसै बित्यो। दिन त सकियो, तर रणसिंहको मनमा भने माओवादीप्रति उदारभाव सुरु भयो। त्यसपछि माओवादीको हिमचिम बढ्यो हुम्लामा। अनि रणसिंहलाई भेट्ने माओवादीको सङ्ख्या पनि बढ्ने नै भयो।
एकदिन माओवादीले दलित जागरण कार्यक्रम गरिरहेको थियो। यत्तिकैमा एकजना एक मन्दिरका धामीले एकजना दलितलाई 'डुम' भनिदिए। तर, माओवादीले तत्कालै उनलाई चारपाटा मोडेर डाँडा कटाए। अनि त्यहाँ सबै गाउँलेलाई भने, 'अबदेखि दलितलाई कसैले डुम भन्यो, छुई गर्यो भने त्यसलाई पनि यसैगरी चारपाटा मोडेर डाँडा कटाउँछौँ।'
अनि रणसिंहले माओवादी बन्ने स्वनिर्णय लिए।
त्यसअघि पनि माओवादीले दलित र गैर दलितबिनाको सहभोज गराउने, जातीय विभेद गर्नेलाई जनकारबाही गर्ने, दलितलाई मन्दिरमा पूजा गराउने लगायतका गतिविधि गरिरहेकै थिए। सायद, माओवादी डरैले पनि त्यस बेलाको हुम्ला झन्डै विभेदरहित जस्तै बनिसकेको रणसिंह सम्झिन्छन्।
'त्यसबेला गैर दलितले हाम्रोमा आएर खाइदिनु मात्र ठुलो कुरा थियो, जुन काम माओवादीले गरे। त्यसपछि त दलितहरूले एउटा रोटी पनि आधा माओवादीलाई दिएर आधा आफूले खाएर आन्दोलनलाई साथ दिए। त्यसको एउटै कारण माओवादीले विभेद हटाउँछ भन्ने आसले थियो, उनले सुनाए।
त्यसपछि ०५८ मा रणसिंहले माओवादीको दलित मुक्ति मोर्चामा प्रवेश गरे। त्यसको एक वर्ष गाउँ कमिटी सदस्य भएका उनी ०६० मा भूमिगत भए।
त्यसबेला उनको घरपरिवार उनमै आश्रित थियो। रणसिंह भूमिगत भएपछि परिवारको बिचल्ली भयो। रणसिंह भने उत्पीडित समुदायको न्याय र समानताका लागि आन्दोलनमा लाग्नुपर्छ भनेर कस्सिइसकेका थिए।
भूमिगत भएपछि रणसिंहले गाउँ गाउँमा पुगेर माओवादी 'जनयुद्ध' जनताको लागि हो, यसले अन्यायमा परेकालाई न्याय दिन्छ, सर्वहारा वर्गको अधिनायकत्व कायम गर्छ भन्दै जागरण चलाए।
जनयुद्ध सकियो। तर उनी शिक्षण पेसामा फर्किएनन्। माओवादीकै सक्रिय राजीनितिमा लागे। सङ्घीयता आएपछि नेकपाको कर्णाली प्रदेश सदस्य बनेका उनी अहिले माओवादीको वैकल्पिक केन्द्रीय सदस्य छन्।
OOO
कर्णालीमा रणसिंहले प्रत्यक्ष चुनावका लागि माओवादीबाट टिकट पाउनु नै ऐतिहासिक थियो। पाए। पाएनन् मात्रै गएको निर्वाचनमा हुम्ला प्रदेश (क) बाट निर्वाचित भएर कर्णाली प्रदेश सभा सदस्य बनेर रणसिंहले प्रदेशमा दलित समुदायबाट प्रत्यक्ष निर्वाचित हुने पहिलो सांसदको इतिहास बनाए।
यसअघि कर्णाली प्रदेशसभामा सीता नेपाली, राजु नेपाली, दानसिंह परियार, झोवा विश्वकर्मा र रातो कामी सांसद भएका थिए। त्यसमध्ये सीता नेपाली र रातो कामी मन्त्रीसमेत बने। उनीहरूले आफ्नो कार्यकालमा दलित मैत्री केही सकारात्मक प्रयासको सुरु गरेका पनि थिए। अब त्यही जगमा रहेर काम गर्नुपर्ने अभिभारा रणसिंहको काँधमा छ।
उनी अघिल्लो पटक एमाले-माओवादी गठबन्धनबाट कर्णाली ऊर्जा तथा जलस्रोत बने। ३ महिनाका लागि मात्रै मन्त्रीको कुर्सीमा बस्न पाएका रणसिंहले आफ्नो मन्त्रालयअन्तर्गत दलित समुदायका लागि 'दलित उज्यालो कार्यक्रम' ल्याएका थिए। जसले विद्युत् नपुगेको दलित बस्तीमा सोलार दिएर उज्यालो बनाउने लक्ष्य थियो।
त्यसका लागि नीति तथा कार्यक्रम हुँदै बजेटमा समेत पर्यो। तर, अझै केही योजनाहरू गर्दैगर्दा उनी मन्त्रीबाट हट्नुपर्ने स्थिति बन्यो। उनले तीन महिने अवधिमा सरकार मन्त्रीले हैन कर्मचारीले चलाउने रहेछन् भन्ने बुझे। त्यही कारण जनप्रतिनिधिले चाहेर पनि धेरै काम गर्न नसक्ने रहेछ भन्ने बुझे।
त्यसबेला उनी कर्णालीमा माओवादीको प्रमुख सचेतक थिए। कर्णाली सरकारले दलित लक्षित केही कार्यक्रम नीति तथा कार्यक्रममा समेट्यो तर, त्यो विल्कुल पर्याप्त थिएन।
२९ प्रतिशत जनसंख्या रहेको दलित समुदायलाई झारो टार्ने गरी नीति तथा कार्यक्रम बन्यो। ठिकै छ। तर, जब बजेट आयो ती कार्यक्रम नै काटिए।
त्यसपछि अभियन्ता खगेन्द्र सुनारले कर्णाली प्रदेश सभा घेर्ने गरी आन्दोलन गरे। त्यस क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लियो। रणसिंहले समन्वयकारी भूमिका खेले।
प्रदेशको संसद्बाटै उनले खगेन्द्रको आन्दोलनलाई समर्थन जनाए। र, अन्त्यमा दलित आन्दोलन चर्किएपछि सरकार बाध्य भएर बजेट संशोधन गर्यो।
पछि उनै खगेन्द्रले कर्णालीको सुर्खेतमा दलित जागरण सम्बन्धी वृहत् आमसभा गरे। त्यसमा पनि रणसिंहले साथ दिए। त्यस कार्यक्रमको अतिथि बनेर गएका रणसिंहले भनेका थिए, 'प्रदेशसभाको दोस्रो कार्यकाल चलिरहँदा पनि दलितको विधेयक नबन्नु लज्जास्पद हो। देशको सबैभन्दा धेरै दलित कर्णालीमा छन्। तर, दलितका लागि सिन्को भाँच्ने कामसमेत भएको छैन, अर्को पटक के मुख लिएर जनतामा जाने?'
सङ्घीयता आएपछि पनि कर्णालीमा विकास निर्माणमा दलित समेटिँदैनन्, पहुँचमा ल्याइँदैन, सरकारले नै दलित अधिकारका विषयमा उपेक्षा गरेको उनको अनुभव छ।
जातीय विभेदका घटनालाई निर्मूल गर्न सरकारले कानुन बनाउनुपर्ने उनको माग छ। दलितले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने गरी कानुन बनाउनुपर्ने पक्षमा छन् उनी।
'जातीय विभेदका घटना घट्ने बित्तिकै कडा कारबाही हुने कानुन बने पो विभेद घट्छ,’ उनले भने।
जातका कुरा
भदौ १४, २०८१ शुक्रबार १९:४२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।