दक्षिण अफ्रिकामा ३ महिनामा ६ हजार बढीको हत्या, अपराध नियन्त्रण सरकारको प्रमुख मुद्दा

दक्षिण अफ्रिकामा ३ महिनामा ६ हजार बढीको हत्या, अपराध नियन्त्रण सरकारको प्रमुख मुद्दा

एजेन्सी : अपराध नियन्त्रण नयाँ गठबन्धन सरकारको प्रमुख मुद्दा बनेको दक्षिण अफ्रिकामा अप्रिलदेखि जुनको बीचमा करिब छ हजार दुई सय व्यक्तिको हत्या भएको प्रहरी आँकडाले देखाएको छ।

प्रहरी मन्त्री सेन्जो म्याकचुनुले तीन महिनामा छ हजार एक सय ९८ व्यक्तिको हत्या भएको जानकारी दिए। यो आँकडा एक वर्षअघिको समान अवधिको तुलनामा शून्य दशमलव पाँच प्रतिशतले कम हो। 

दक्षिण अफ्रिकामा शान्तिकालमा प्रतिव्यक्ति हत्या दर विश्वमा सबैभन्दा धेरै छ। महिला र बालबालिकामाथि हुने यौन आक्रमणका लागि कुख्यात मुलुक दक्षिण अफ्रिकामा बलात्कारका घटनाहरू गत वर्षको यही तीन महिनाको अवधिको तुलनामा शून्य दशमलव छ प्रतिशतले बढेका छन्। 

अप्रिलदेखि जुनको बीचमा मुलुकमा कूल नौ हजार तीन सय नौ बलात्कारका घटना दर्ता गरिएका छन्। यस अवधिमा प्रहरी कारवाहीमा ४४ हजार सात सय ३५ लागूऔषधसँग सम्बन्धित अपराध फेला परेको प्रहरीले बताएको छ। 

'हामीले लागूऔषध सिन्डिकेटलाई लक्षित गर्दै महत्त्वपूर्ण अभियान चलाएका छौँ, यसबाट ठूलो मात्रामा अवैध लागुऔषध बरामद गरिएको छ', मन्त्री म्याकचुनुले भने। 

विशिष्ट प्रहरी एकाइले जोहानेसबर्गको उत्तरमा दुर्गम खेतमा लुकाइएको करोडौं डलरको क्रिस्टल मेथ प्रयोगशालामा छापा मार्दा गत महिना तीन मेक्सिकाली र दुई दक्षिण अफ्रिकी पक्राउ परेका थिए। 

अर्को छुट्टै घटनामा प्रहरीले २५ करोड २० लाख र्यान्ड (करिब एक करोड ४० लाख डलर) मूल्यको कोकिनका इँटा भरिएका १४ वटा झोला बरामद गरेपछि एक रूसीलाई दक्षिण अफ्रिकीसँगै पक्राउ गरिएको थियो। 
    
मे महिनाको निर्वाचनपछि आफ्नो अफ्रिकी नेशनल कांग्रेसले मध्यमार्गी डेमोक्रेटिक गठबन्धन र अन्य साना दलहरूसँग असहज गठबन्धन गर्न बाध्य राष्ट्रपति सिरिल रामफोसाको नयाँ गठबन्धन सरकारसामु अपराध प्रमुख मुद्दा बनेको छ।

भदौ १४, २०८१ शुक्रबार १८:१९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।