६ किलोग्राम हाइड्रोजन भरेपछि ६५० किलोमिटर यात्रा गर्न सकिन्छ प्रधानमन्त्रीले शुभारम्भ गरेको हाइड्रोजन कारमा

६ किलोग्राम हाइड्रोजन भरेपछि ६५० किलोमिटर यात्रा गर्न सकिन्छ प्रधानमन्त्रीले शुभारम्भ गरेको हाइड्रोजन कारमा

धुलिखेल : प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गरेका छन्।

विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्रीले आज हाइड्रोजनबाट सञ्चालन हुने बा१झ ११११ नम्बरको कार उद्घाटन गर्दै सोही कार चढेर दीक्षान्त समारोहस्थल गए। 

प्रधानमन्त्रीले विश्वविद्यालयले सञ्चालन गरेको ग्रीन हाइड्रोजन उत्पादन र रिफ्यूलिङ स्टेसन निर्माण अनुकरणीय कार्य भएको भन्दै आफू यसअघि प्रधानमन्त्री भएका बेला ग्रीन हाइड्रोजन तथा हावाबाट बिजुली उत्पादनबारे छलफल गरिएको सम्झिए।

विश्वविद्यालयको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख एवं सहप्राध्यापक विराजसिंह थापाले बिजुली र पानीलाई प्रशोधन गरी हाइड्रोजनमा परिणत गरिएको जानकारी दिए। 

विगत दुई वर्षदेखि ग्रीन हाइड्रोजन फ्युल उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको विश्वविद्यालयले पहिलो पटक २०७९ साल चैत १९ मा ग्रीन हाइड्रोजन उत्पादन गरेको थियो। 

विश्वविद्यालयलाई हाइड्रोजन उत्पादन तथा हाइड्रोजनबाट सवारी साधन सञ्चालनका लागि नेपाल आयल निगमले आर्थिक सहयोग गरेको थियो। निगमकै सहयोगमा गत कात्तिकमा दक्षिण कोरियाबाट हुण्डाइ कम्पनीको कार भित्र्याइएको थियो। 

कोरियन हाइड्रोजन उत्पादन कम्पनीका प्राविधिकको सहयोगमा विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गरिएको जनाइएको छ। 

यसका लागि निगमले विश्वविद्यालयलाई पाँच करोड उपलब्ध गराएको थियो। उक्त सहयोगबाट विश्वविद्यालयले ३३ हजार अमेरिकी डलरमा कार, एक करोड ३० लाखको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरेको जनाइएको छ। 

सहप्राध्यापक थापाका अनुसार हाइड्रोजन रिफिल सेन्टरमा प्रशोधित पानीबाट हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनलाई सुक्खा बनाउन, शुद्धीकरण गर्ने र लो प्रेसर ट्यांकीमा भण्डार गर्ने र त्यसमा रहेको हाइड्रेजनलाई हाइप्रेसर ट्यांकीमार्फत कारमा रिफिल गरिन्छ।
    
अध्ययन तथा अनुसन्धान (परीक्षण)का लागि विश्वविद्यालय परिसरमा स्थापित हाइड्रोजन रिफिल सेन्टरबाट दैनिक औसत दुई किलोग्राम हाइड्रोजन उत्पादन हुने विश्वविद्यालयले जनाएको छ। एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न १० लिटर पानी र ४० देखि ४५ यूनिट बिजुली खपत हुन्छ। 

विश्वविद्यालयमा ल्याइएको हुण्डाइको कारमा छ किलोग्राम हाइड्रोजन भर्न सकिने र पूर्ण क्षमतामा छ सय ५० किलोमिटर दुरीको यात्रा गर्न सकिने जनाइएको छ। 

विश्वविद्यालयले ३० देखि ३५ वटासम्म हाइड्रोजन गाडीलाई रिफ्युलिङ गर्न सकिने गरी हाइड्रोजन रिफ्युलिङ सेन्टर स्थापना गर्न पाइलट प्रोजेक्ट तयार गर्ने लक्ष्यसमेत राखेको छ।  

भदौ १३, २०८१ शुक्रबार १५:३०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।