कलाकार बलिया भएर पनि प्रचारमा कमजोर देखिएका फिल्म
काठमाडौं : दर्शकलाई हलसम्म ल्याउनका लागि फिल्मबारे जानकारी दिनैपर्छ। त्यसका लागि प्रचारप्रसार र मिडिया आउटरेज नै प्रमुख माध्यम हो। मिडियामा आएका अन्तर्वार्ता, फिल्मी ट्रेलर र गीतसंगीतले नै दर्शकलाई फिल्मप्रति चासो बढाउने हो।
तर, प्रदर्शनको संघारमै आइसक्दा पनि केही फिल्महरूले प्रचारलाई तीव्रता दिन सकेका छैनन्। उनीहरूको प्रदर्शनमा आएको खबर समेत दर्शकले प्रतिस्पर्धी फिल्महरूबाट थाहा पाउनुपर्ने अवस्था छ।
भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘देवी’ युनिट यतिबेला धमाधम प्रचारमा लाग्नुपर्ने हो। तर, त्यसो हुन नसक्दा हलमा फिल्म लागेको र उत्रिएको दर्शकले थाहै नपाउने अवस्था देखिन्छ।
बलात्कारको घटनामा कानूनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथालाई निर्माण टिमले पर्दामा उतारेका छन्। फिल्ममा स्थापित र बलिया कलाकारकै अभिनय छ। फरक भूमिकामा आफूलाई अब्बल साबित गरिसकेका नाजिर हुसेनदेखि गौरव पहारी, टीका पहारी, ध्रुव कोइराला, शिल्पा मास्के लगायतका कलाकारले फिल्मा अभिनय गरेका छन्।
नाजिर हुसेनका अघिल्ला फिल्महरुले राम्रै चर्चा पाए पनि यसपटक मिडियाले पनि उनलाई खासै वास्ता गरेका छैनन्। सञ्जोग राईको निर्देशनमा बनेको फिल्मको चर्चा औसतभन्दा पनि तल छ।
सोही दिन प्रदर्शनमा आउन लागेको र आक्रामक प्रचार शैली अपनाएको पूजा शर्माको फिल्म ‘रावायण’को प्रतिस्पर्धी भएकाले दर्शकको कानसम्म ‘देवी’को नाम पुगेको छ। एउटै मितिमा प्रदर्शमा आउन लागेका दुई फिल्मको प्रचार शैलीमा आकाश जमिनको फरक देखिन्छ।
यस्तै, असोज ११ गते प्रदर्शनमा आउने ‘आँखा’को पनि खासै चर्चा सुनिएको छैन। फिल्ममा निर्मात्री समेत रहेकी स्मीता लामिछानेका अलावा विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा लगायतका कलाकारको अभियन छ।
बलिया कलाकार हुँदा–हुँदै पनि प्रचारप्रसारमा निर्माण टिम कमजोर हुँदा फिल्मले निर्मातालाई तनाव नदेला भन्न सकिँदैन। यद्यपि प्रदर्शनमा अझै २५ दिन बाँकी रहेकाले अबका दिनमा प्रचारलाई तीव्रता दिनुको अलावा निर्माण टीमसँग अर्को विल्कप छैन।
अधिकांश नेपाली रंगमञ्चमा अब्बल उपस्थिति जनाएका कलाकारहरूको अभिनय रहेको ‘आँखा’ले नदी किनारामा बसेका सुकुम्बासी बस्तीको कथालाई निर्माण टिमले पर्दामा उतार्न खोजेको छ। यो फिल्मलाई जौन योन्जनले लेखन तथा निर्देशनको काम समालेका छन्।
फिल्म ‘देवी’ र ‘आँखा’ मात्र होइन, आजैबाट प्रदर्शनमा आएको फिल्म ‘वर एण्ड वधु’अवस्था पनि त्यस्तै छ। फिल्म ‘गोर्खा वारियर’जस्तो फिल्म निर्माण गरेका मिलन चाम्सले प्रचारविनै फिल्म लगाए। उनी यस्तो स्वभावका निर्देशक होइनन्।
मंगलबार पोखरामा र बुधबार काठमाडौंको लबिङ मलमा केहि पत्रकार र कलाकारबीच प्रिमियर गरिएको फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्यका अलवा किरण केसी, विजय लामा लगायतका कलाकारको अभिनय छ।
भदौ १३, २०८१ शुक्रबार १४:१०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।