अमेरिकामा मारिएकी मुना पाण्डेको हत्याको कारण ‘लुटपाट’

अमेरिकामा मारिएकी मुना पाण्डेको हत्याको कारण ‘लुटपाट’

काठमाडौं : अमेरिकाको टेक्सासमा मारिएकी २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्याको कारण लुटपाट रहेको प्रहरीले उल्लेख गरेको छ।

आफ्नै अपार्टमेन्टको बेडमा गोली हानेर हत्या गरेको अवस्थामा भेटिएकी पाण्डेको हत्या गरेको आरोपमा बबी सिंह साह पक्राउ परिसकेका छन्।

अनुसन्धानकर्ताले अदालतमा बुझाएको विवरणमा बबी लुट्ने प्रयोजनले मुनाको अपार्टमेन्टमा गएर गोली हानेको उल्लेख छ।

अदालतमा उनीमाथि हत्याको आरोप लगाइएको छ। क्यापिटल मर्डरको आरोप टेक्सासमा सबैभन्दा गम्भीर अपराध मानिन्छ, जसमा मृत्युदण्डसम्मको सजाय हुनसक्छ। उनीमाथि अवैध हतियारको आरोप समेत लगाइएको छ।

बबी सिंहको धरौटी अदालतबाट अस्वीकार भएकाले उनी हिरासतमा छन्। उनलाई सेप्टेम्बर ३ मा अदालतमा पेश गरिने छ।

पाण्डेको हत्या सम्बन्धमा अदालतमा पेश भएको पत्रमा ‘बबी सिंह शाह जसलाई बबी शाहको नामले पनि चिनिन्छ, यसपछि प्रतिवादीको रूपमा उल्लेख गरिएको, यसअघि वा अगस्त २४, २०२४ को आसपासमा, मुना पाण्डेको लुटपाट गर्ने र गर्न खोज्ने क्रममा, जानाजान मुना पाण्डेलाई घातक हतियारले गोली हानेकाले मुना पाण्डेको मृत्यु भएको’ उल्लेख छ।

बबी अमेरिकी समय अनुसार बुधबार राति ८ बजे पक्राउ परेका थिए। बुधबार नै प्रहरीले संदिग्धको फोटो सार्वजनिक गरेको थियो।

मृतक पाण्डे नेपालको भोजपुरको रहेको र सन् २०२१ मा अमेरिका गएको खुलेको छ। इटहरीको कोशी कलेजमा अध्ययन सकाएर उनी विद्यार्थी भिषामा अमेरिका गएको खुलेको छ।

एकल आमाको हेरचाहमा हुर्किएकी एक्लो सन्तान मुना अमेरिकाको एक कलेजमा नर्सिङ विषयमा ब्याचलर्स अध्ययन गरिरहेकी थिइन्।

दुई दिनदेखि मुनाको फोन बन्द थियो। उनी बस्ने अपार्टमेन्टको कर्मचारीलाई अज्ञात स्रोतबाट मुनाको हत्या भएको सूचना आएको थियो। कर्मचारीले प्रहरीलाई जानकारी गराए।

प्रहरी अपार्टमेन्टमा जाँदा मुना बेडमा अचेत थिइन्। चिकित्सक टोली आएर परिक्षण गरेपछि मृत घोषणा गर्यो। 

एक मगिनादेखि हराइरहेकी काभ्रेकी ममता काफ्लेको हत्याको आशंकामा उनकै श्रीमान् पक्राउको घटनाले अमेरिकास्थित नेपाली समुदाय अनि नेपालसमेत तरंगित भएकै समयमा एका-एक अर्को नेपाली युवतीको हत्या घटना सार्वजनिक भएको थियो।

भदौ १३, २०८१ शुक्रबार १३:१२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।