राशिद खानलाई ढाडमा चोट, न्यूजिल्याण्डविरुद्धको टेस्ट गुमाउने
एजेन्सी : अफगानिस्तानका लेग स्पिनर राशिद खानलाई ढाडमा चोट लागेको छ।
खानलाई अफगानिस्तानको घरेलु टी-२० प्रतियोगिता ‘स्फाघिजा क्रिकेट लिग’ (एससीएल) खेल्ने क्रममा लागेको क्रिकइन्फोले जनाएको छ।
चोटका कारण उनले न्यूजिल्याण्डविरुद्धको एक मात्र टेस्ट गुमाउने भएका छन्। अफगानिस्तानले सेप्टेम्बर ९ देखि १३ सम्म न्युजिल्यान्डसँग टेष्ट खेल्ने तालिका छ। यो खेल अफगानिस्तानको घरेलु मैदान भारतको ग्रेटर नोएडामा हुनेछ।
एससीएलमा ‘स्पिन घर टाइगर्स’का लागि खेलेका रसिदले लगातार तीन खेलमा २०० को स्ट्राइक रेटमा ६८ रन बनाए। उनले ५ को इकोनोमीमा छ विकेट समेत लिएका छन्।
अगस्ट २० मा यस लिगमा आफ्नो अन्तिम उपस्थिति खेल्दै उनले अमो शार्क्सविरुद्ध २६ बलमा ३ चौका र ६ छक्काको मद्दतमा ५३ रनको अन्तिम इनिङ खेलेका थिए।
तर, यो खेलका क्रममा उनको ढाड दुख्ने समस्या बढ्यो र उनी टाइगर्सको अन्तिम खेलमा सहभागी हुन सकेनन्।
यसभन्दा एक साताअघि द हन्ड्रेडका क्रममा रसिदलाई ह्यामस्ट्रिङमा पनि समस्या देखिएको थियो। ट्रेन्ट रकेटको अन्तिम दुई खेलमा सहभागी हुन नसकेपछि उनी बाहिरिएका थिए।
२०२३ ओडीआई विश्वकपपछि राशिदको तल्लो ढाड दुखेपछि शल्यक्रिया गरिएको थियो। जसका कारण उनी पाँच महिना क्रिकेट मैदानबाट बाहिर थिए।
मार्च २०२४ मा आयरल्याण्ड विरुद्धको टी-२० सिरिजमा पुनरागमन गरेका उनले त्यसयता आईपीएल, टी-२० विश्वकप, हन्ड्रेड र एससीएलमा टी-२० क्रिकेट खेलेका छन्।
न्यूजिल्याण्डसँगको यो टेस्टपछि अफगानिस्तानले सेप्टेम्बर १८ देखि शारजाहमा दक्षिण अफ्रिकासँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ।
भदौ १३, २०८१ शुक्रबार १२:५४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।