विकेन्द्रीकृत हुँदै क्रिकेट प्रतियोगिता : कोशीमा राष्ट्रिय प्रतियोगिता र मधेशमा एलिट कप हुने
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु क्रिकेट प्रतियोगितालाई विकेन्द्रीकृत गरेको छ।
बिहीबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले घरेलु प्रतियोगितालाई काठमाडौंमा मात्र सीमित नराखी विकेन्द्रीकृत गरी आयोजना गर्ने निर्णय गरेको हो।
बैठकले यसअघि काठमाडौंमा हुँदै आएका प्रतियोगिता र पहिलो पटक आयोजना हुने एलिट कपलाई पनि उपत्यका बाहिर आयोजना गर्ने निर्णय गर्दै क्रिकेटलाई विकेन्द्रीकरण गर्दैछ।
बैठकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर र विरगंज तथा दाङको लमहीमा प्रतियोगिता र खेलाडीको बन्द प्रशिक्षण राखेको छ।
संघले १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सेप्टेम्बर र अक्टोबर महिनामा कोशी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ।
त्यसैगरी संघको वार्षिक कार्यक्रमअुनसार सञ्चालन गरिने एलिट कप क्रिकेट प्रतियोगिता अक्टोबर अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र विरगञ्जमा आयोजना गर्ने भएको छ।
आईसीसी यू१९ महिला विश्वकप एसिया छनोटको तयारीका लागि सेप्टेम्बर १५ बाट दाङको लमहीमा पहिलो चरणको बन्द प्रशिक्षण सञ्चालन गर्ने निर्णय पनि क्यानले कार्यसमिति बैठकले गरेको छ।
त्यसैगरी, क्यानले सातवटै प्रदेश क्रिकेट संघहरूलाई दुई महिला र तीन पुरुष गरी प्रति प्रदेश पाँच जना खेलाडीहरुलाई सेप्टेम्बर एक देखि लागू हुनेगरी एक वर्षसम्म जनही मासिक १५ हजार रुपैयाँका दरले पारिश्रमिक पाउने गरी अनुबन्ध गराउने निर्णय समेत गरेको छ।
यसले क्रिकेट प्रतियोगिता, बन्द प्रशिक्षण र अन्य क्रिकेट गतिविधिलाई काठमाडौंमा मात्र सीमित राखेको भन्दै हुने गरेको क्यानको आलोचना समेत केही मत्थर हुने देखिन्छ।
क्रिकेटको समग्र विकासका लागि घरेलु संरचनाको क्रिकेट र भएका खेलाडीहरुलाई टिकाइराख्नको लागि पनि स्थानीय तहसम्म क्रिकेट पुग्न आवश्यक रहेको संघका सचिव पारस खड्काले बताउँदै आएका छन्।
भदौ १४, २०८१ शुक्रबार १२:१२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।