संविधानको व्याख्यात्मक टिप्पणीमा ‘माओवादी जनयुद्ध’ शब्द नै प्रयोग भएको छ : अध्यक्ष प्रचण्ड

संविधानको व्याख्यात्मक टिप्पणीमा ‘माओवादी जनयुद्ध’ शब्द नै प्रयोग भएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको व्याख्यात्मक टिप्पणीमा ‘माओवादी जनयुद्ध’ शब्द प्रयोग गरिएको दाबी गरेका छन्।

पार्टी प्रशिक्षण कार्यक्रममा शुक्रबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले विस्तृत शान्ति सम्झौतालाई संविधानकै अंग बनाइएको स्मरण गराए।

बुधबार एमाले सांसद योगेश भट्टराईले संसदमा सशस्त्र संघर्षलाई माओवादी हिंसा भनेपछि एमाले र माओवादी केन्द्रका सांसदहरूबीच घम्साघम्सीको स्थिति बनेको थियो।

सोही विषयमा लिएर बिहीबार माओवादी सांसदहरूले योगेशलाई एकीकृत समाजवादीका सांसद प्रेम आलेको टेलिभिजन अन्तर्वार्ताको हवाला दिँदै हतियार तस्करीको नाइके भएको गम्भीर आरोप लगाएका थिए।

अध्यक्ष प्रचण्डले भने, ‘उहाँहरूले त्यो भाषा त्यसरी प्रयोग गर्न हुने थिएन भन्ने कुरा नै हो। किनकी हाम्रो संविधानले विस्तृत शान्ति सम्झैतालाई संविधानकै अंग बनाएको छ। संविधानमा सशस्त्र संघर्षको कुरा र जनयुद्धको कुरालाई... अझ व्याख्यात्मक टिप्पणीमा त माओवादी जनयुद्ध भनेर नै शब्द प्रयोग गरिएको छ। त्यसमा सबैको सहमति हो संविधान बनाउने बेलामा।’

यसका साथै योगेश भट्टराई लगायत एमाले सांसदहरूले एउटा चरणमा ‘जनयुद्ध’को प्रशंसा नै गरेको भन्दै उनले माओवादीको भूमिका महत्वलाई अपमानित गर्ने किसिमले नबाल्ने समेत आग्रह गरे।

उनले थपे, ‘त्यसमाथि एमालेका नेताहरूले एउटा चरणमा त जनयुद्धको जसले हिंसा भन्ने शब्द प्रयोग गर्नुभयो उहाँहरुले प्रशंसा नै गर्नुहुन्थ्यो, ’अपमानित हुने किसिमले माओवादी केन्द्रको ऐतिहासिक भूमिका र महत्वलाई मिनिमाइज गर्ने किसिमले नबोल्दा राम्रो हुन्छ।’

माओवादीले भन्दै आएको ‘जनयुद्ध’लाई संविधानमा ‘सशस्त्र संघर्ष’ शब्दले व्याख्या गरिएको छ।

सम्बन्धित समाचार:

भदौ १३, २०८१ शुक्रबार ११:४१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।