सुर्खेत पुगेर अध्यक्ष दाहालले भने, ‘प्रचण्ड अध्यक्षभन्दा माथि भइसक्यो’

सुर्खेत पुगेर अध्यक्ष दाहालले भने, ‘प्रचण्ड अध्यक्षभन्दा माथि भइसक्यो’

सुर्खेत : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अध्यक्षभन्दा माथि भइसकेको दाबी गरेका छन्।

शुक्रबार पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका उनले यस्तो दाबी गर्दै राम्रो टीम बनेपछि आफू अर्को भूमिकामा जाने बताए।

‘म ७० वर्ष कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, प्रचण्ड अध्यक्षभन्दा माथि भइसक्यो। देश दुनियाँमा मेरो पहिचान भइसक्यो,’ उनले थपे, ‘एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचिरहेको छु।’

उनले नेतृत्व हस्तान्तरण आवश्यक नरहेको बताउँदै सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको बताए।

फरक प्रसङ्गमा उनले भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको तथ्य पुष्टि हुँदै गएको दाबी गरे।

‘सरकार परिवर्तनको कुरा भ्रष्टाचारीलाई बचाउनकै लागि हो भन्ने कुरा पछिल्ला घटनाहरूले तथ्य साबित गरेको छ,’ उनले भने, ‘गलत गरे कसैलाई पनि छोड्दैनौँ, यो विद्रोह र धम्की होइन, हाम्रो एजेन्डा हो।’

एमाले सांसद्हरूले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने भन्दै उनले विस्तृत शान्ति सम्झौतापछि संविधानमा नै ‘जनयुद्ध’ शब्द प्रयोग भएको समेत दाबी गरे।

अध्यक्ष प्रचण्डले पार्टी फुटको चर्चा गलत भएको पुष्टि भइसकेको भन्दै यो विषय एकथरी मान्छेले गलत प्रचार गर्न नियोजित रूपमा सतहमा ल्याएको बताए। पार्टीभित्र कुनै आन्तरिक विवाद नरहेको र भएका साना मसिना विवाद पनि समाधान भएको उनको भनाइ छ।

प्रशिक्षण कार्यक्रममा उप-महासचिवद्वय जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरूको पनि उपस्थिति थियो।

भदौ १३, २०८१ शुक्रबार ११:०९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।