मेयर र कर्मचारीले प्रयोग नगरेपछि लाखौं भाडा तिरेको आवासगृह प्रयोगविहीन, हाकिम भन्छन्- ‘त्यहाँ पाहुना राख्छौँ’

मेयर र कर्मचारीले प्रयोग नगरेपछि लाखौं भाडा तिरेको आवासगृह प्रयोगविहीन, हाकिम भन्छन्- ‘त्यहाँ पाहुना राख्छौँ’

पर्वत : जिल्लाको फलेवास नगरपालिकाले कर्मचारी र नगरप्रमुखको आवासका लागि भाडामा लिएका आवासगृह प्रयोगविहीन बनेका छन्।

नगरपालिकाले ती घरका भाडावापत वार्षिक लाखौं रुपैयाँ भुक्तानी गर्दै आएको छ। नगरप्रमुखको आवासका लागि फलेवास नगरपालिका-६ देवीस्थानमा र कर्मचारीका लागि फलेवास-५ खानीगाउँमा घर भाडामा लिइएको छ।

आवास गृहमा न कर्मचारी बस्छन् न त नगर प्रमुख नै। नगर प्रमुख गङ्गाधर तिवारी वडा नम्बर ३ शङ्करपोखरीमा तथा सदरमुकाम कुश्माबजारमा रहेको घरमा बस्छन् भने कर्मचारी पनि आफ्नै सुरले छुट्टै बस्दै आएका छन्।

नगरपालिकाले नगरप्रमुख र कर्मचारी बस्ने घरका लागि भन्दै क्रमश: मासिक १५ र १९ हजार पाँच सय रुपैयाँ भुक्तानी गर्दै आएको छ।

पूर्व नगर प्रमुख पदमपाणि शर्माले आवासीय सुविधाका लागि भन्दै घर भाडामा लिएका थिए। आफ्नो कार्यकालमा शर्मा त्यस घरमा बसेका थिए।

जनप्रतिनिधि र कर्मचारी नै नबस्ने आवासका लागि वार्षिक चार लाखभन्दा रकम बढी भुक्तानी हुँदा स्थानीयले विरोध जनाएका छन्।

उनीहरूले आवासका लागि नगरभित्रै खाली रहेका वडा नम्बर ५ का पुरानो वडा कार्यालय, पुरानो पशु सेवा शाखा, फलेवास सिँचाइ आयोजना, तत्कालीन कृषि विकासको शाखा कार्यालयलाई प्रयोगमा ल्याउन समेत आग्रह गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद आचार्यले आफू सरुवा भएर आउनुभन्दा पहिल्यैदेखि कर्मचारी र नगर प्रमुखको आवासका लागि भाडा भुक्तानी हुँदै आएको बताए। पुरानै सम्झौताका आधारमा दुवै ठाउँमा भाडा तिर्ने गरिएको उनको भनाइ छ।

ती भवन प्रयोगविहीन नभएर नगरपालिकामा आउने अतिथि पाहुनालाई राख्ने गरिएको दाबी गरे।

‘भाडामा लिएको आवास नभएको भए होटल खोजेर वा कुश्मा बजारमा पठाउनुपर्ने थियो, तर हामीले तीनै आवासमा अतिथिलाई व्यवस्थापन गर्ने गरेका छौँ,’ कार्यकारी अधिकृत आचार्यको दाबी छ।

प्रयोगविहीन आवासको सम्झौता रकम भुक्तानी रोक्ने प्रक्रियामा आफूले छलफल थाल्ने उनले बताए।

भदौ १३, २०८१ शुक्रबार १०:४४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।