लिलाममा रहेका सम्पत्तिको सम्पूर्ण जानकारी दिन एनआईसी एशिया बैंकद्वारा अनलाइन पोर्टल सञ्चालन
काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरू, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ।
जसबाट लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी त्यस्ता सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ।
लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपछि खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा अब नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम विक्रीमा रहेको सम्पत्ति लिलाम विक्री सम्बन्धी सूचनाहरू प्रकाशित गरिने बताइएको छ।
भदौ १४, २०८१ शुक्रबार १०:०९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।