खर्चिलो तीज कार्यक्रम गर्नेलाई कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी, के भन्छ कानून?

खर्चिलो तीज कार्यक्रम गर्नेलाई कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी, के भन्छ कानून?

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले असम्बन्धित कानूनको हवाला दिँदै खर्चिलो हुने गरी तीजका कार्यक्रम आयोजना गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

बिहीबार एक सूचना निकालेर काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता माधव प्रसाद ढुंगानाले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीनका कार्यक्रमहरूको आयोजना गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो।

सूचनामा भनिएको, ‘कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीजका कार्यक्रमहरुको आयोजना गरे वा गराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानून बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ।’

परम्परा एवं सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य कुनै खालका तीजसँग सम्बन्धित खर्चिला एवं भड्किलो कार्यक्रम नगर्न समेत प्रशासनको आग्रह छ।

प्रशासनले सामाजिक व्यवहार (सुधार) ऐन २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ को हवाला दिँदै कारबाहीको चेतावनी दिएको हो। यद्यपि उसले अनावश्यक तडकभडकको मापदण्ड र खर्चको सीमा भने तोकेको छैन।

यस विषयमा जिल्ला प्रशासन कार्यालयका प्रवक्ता ढुंगानाले पनि खर्चको सीमा नतोकिएको भन्दै ऐनअनुसार तडकभडन नगर्नुस् भनेर सूचना जारी गरेको उल्लेख गरे।

‘हामीले खर्चको सीमा निर्धारण गरेका छैनौं,’ उनले भने, ‘हामीले सामाजिक व्यवहार (सुधार) ऐनले जे भन्छ, त्यो अनुसार गर्नू, तडकभडक नगर्नू भनेर सूचना निकालेका हौँ।’

त्यसो भए ऐन र नियमावलीले के भन्छ त?, सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ को नियम १२ मा तीजसम्बन्धी एउटै मात्र व्यवस्था छ।

जसमा भनिएको छ, ‘तीज पर्वमा  दर पठाउँदा आ-आफ्नो प्रचलन एवं परम्पराअनुसार मिठाई तथा फलफूलजस्ता चिजबिजहरु सबै गरी बढीमा दुई किस्तीबाहेक अन्य कुनै सामग्री पठाउन हुँदैन।’

त्यसैगरी सोही नियमावलीमा भोजमा बोलाउने व्यवस्था रहेको छ। जसमा भोज लगाउनेबारे कल्पनै गरिएको छैन।

भोजको सन्दर्भमा विवाहमा एक सय जना भनिएको छ भने छैटी, न्वारन, जन्मदिवस, पास्नी, चूडाकर्म, ब्रतबन्ध र बुढोपास्नीमा २५ जनासम्म बोलाउन पाइने भनिएको छ। पितृकार्यमा भने मलामी गुठीयारसमेत पचास जनाको संख्या तोकिएको छ।

यसरी ऐनमै नभएको व्यवस्थामा टेकेर जिल्ला प्रशासनले तीजबारे सूचना निकाल्दै कारबाहीको चेतावनी दिएको हो।

भदौ १३, २०८१ शुक्रबार ०८:४५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।